सुदुरपस्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि बन्द-कन्चन आवाज

  • कन्चन आवाज
  • २०७७ मङ्सिर १६ गते,रोज ०३

 

प्रदेश सभा सञ्चालन नहुँदा जनताले भोगिरहेका मल तथा बीउ अभावको समस्या, कोरोना नियन्त्रणमा सरकार जिम्मेवार नहुनु, योजना कार्यान्वयनमा प्रदेश सरकारले ढिलासुस्ती लगायतका कुरा प्रदेश सभा सदस्यहरुले उठान गर्न स्थान पाएका छैनन्।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले विधेयक दर्ता नहुँदा प्रदेश सभा सञ्चालन हुन नसकेको जनाएको छ। कोरोना महामारीकै बीच छैठौँ अधिवेशन सम्पन्न गरिए पनि हिउँदे अधिवेशनको अझै सुरसार नरहेको जनाइएको छ।

तत्काल प्रदेश सभा सञ्चालनको सम्भावना नरहेको सभामुख अर्जुनबहादुर थापाले बताए। ‘दुई जना मन्त्रीलाई कोरोना संक्रमण भएकाले तत्काल प्रदेश सभा सञ्चालनको सम्भावना छैन’, उनले भने, ‘सम्भवतः मङ्सिरको अन्तिमतिर सभा सञ्चालन हुन सक्छ।’

प्रदेश सभा सचिवालयमा अहिलेसम्म एउटा पनि नयाँ विधेयक दर्ता भएको छैन। विधेयक दर्ता नभएका कारणले पनि तत्काल प्रदेश सभा सञ्चालनको सम्भावना नरहेको सभामुख थापाले बताए। उनले भने, ‘प्रदेश सभा सञ्चालनको लागि मुख्य विषयवस्तु नै हामीसँग छैन।’

उनले विधेयक दर्ता भएपछि मुख्यमन्त्रीसँग सल्लाह गरेर प्रदेशसभा सञ्चालनका लागि अगाडि बढ्ने बताए।

प्रदेश सभा सञ्चालनका लागि मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रदेश प्रमुखले बैठक आह्वान गर्ने व्यवस्था रहेको छ। प्रदेश सभा बैठक सञ्चालन नभएपछि प्रदेश सभा सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यमा व्यस्त रहेका छन्। उनीहरु विकास निर्माणको काम, विभिन्न योजनाको निरीक्षण तथा अवलोकनका साथै जनताका समस्या बुझ्ने कार्य गरिरहेका जनाइएको छ।

सुदूरपश्चिम प्रदेश सभाबाट हालसम्म ४२ वटा कानुन पारित भएको छन्। प्रदेश सरकारलाई काम कारबाहीका लागि आवश्यक पर्नेदेखि लिएर विकास निर्माण, रोजगारी, लोकसेवा आयोग, योजना आयोगसँग सम्बन्धित महत्वपूर्ण कानुनहरु निर्माण भइसकेका छन्।

यस्तै जनजीविकासँग सम्बन्धित कानुनहरु पनि प्रदेश सभाबाट निर्माण भइसकेका छन्। हालसम्म पारित भएका सबै कानुनहरु प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भइसकेको प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिए।

प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी दुई विधेयक भने प्रक्रियामा रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button