एमाले सांसदहरुले भने एमसिसी पारित गर्नु हुन्न यो रास्ट्रको हित मा छैन

कञ्चन आवाज
२३ भाद्र २०७८

नेकपा एमालेका बहुसंख्यक सदस्यहरूले अमेरिकी आर्थिक र्सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न नहुने बताएका छन् ।

गाउँ–गाउँसम्म मतदाता र सर्वसाधारण एमसीसीको विपक्षमा रहेकोले एमसीसी अनुमोदन गर्न नहुने उनीहरूको भनाइ थियो ।

संसद् भवन नयाँ बानेश्वरमा बुधवार बसेको एमाले संसदीय दलको बैठकमा बोल्ने बहुसंख्यक सदस्यहरूले एमसीसी अनुमोदन गर्न नहुने बताएका हुन् ।

सांसद सूर्य पाठकले एमसीसी पारित गर्न हुँदैन भनेर बहुसंख्यक जनता उभिएकाले पारित गर्न नहुने बताए ।

डा. शिवमाया तुम्बाहाम्फेले सरकारको निरन्तरताको स्वरुप विगतमा एमसीसी स्वीकार गरेको भए पनि अब स्वीकार्न नहुने बताइन् । ‘एमसीसीभित्र जुन सम्झौता भएका छन्, शेरबहादुर देउवा सरकारले गरेको विषय हो । हिजो सरकारको निरन्तताको रुपमा अगाडि बढाएको हो भने पनि अहिले हामीले हाम्रो भूमिका के हो भन्ने कुरा स्पष्ट गर्नुपर्छ,’ तुम्बाहाम्फेले भनिन् ।

सांसद राजबहादुर बुढाले एमसीसी गाउँ बस्तीसम्म गइसकेकाले नेकपा एमालेले आफ्नो धारणा किटानीका साथ राख्नु पर्ने बताए । ‘हामी जनताकोमा जाँदा कुरा राख्दा एकमतले राख्दा एउटै कुरा राख्नु पर्ने भयो । अलमल नराखी पार्टीको धारणा बनाऔँ,’ उनले भने ।

लालबाबु पण्डितले संशोधन नगर्दासम्म एमसीसी पारित गर्न नहुने बताए । ‘जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउनु हुँदैन । २०४८ सालको संसदमा अरुण तेस्रो राष्ट्रको हितमा अगाडि बढाउन हुन्न भनेर रोकिएको थियो । एमसीसी पनि संशोधन बिना कुनै काम अगाडि बढाउनु हुँदैन,’ पण्डितले भने ।

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले एमसीसीबारे पार्टीले धारणा नबनाउँदा कार्यकर्ता र जनताको प्रश्नको जवाफ दिन नसकिएको बताइन् ।

बैठकमा सांसदहरूले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर चर्को आलोचना गरेका थिए । बुधवार शुरू हुने प्रतिनिधि सभा अधिवेशनमा खेल्ने भूमिकाबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button