ओली समूहको बैठकमा बामदेब सहित एक सय १५ जना सांसद उपस्थित हुने दाबी

कञ्चन आवाज
२२ फागुन २०७७

नेकपाको केपी ओली पक्षले शनिबार तीन बजे बालुवाटारमा डाकेको संसदीय दलको बैठकमा एक सय १५ जना भन्दा बढि सांसदहरु उपस्थित हुने दाबी गरेको छ।

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले आइतबारको संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको र यो बैठकमा आफ्ना पक्षका एक सय १५ जना भन्दा बढि सांसदहरु उपस्थित हुने दाबी गरेका हुन्।

उनका अनुसार हालसम्म तठस्थ बसेको दाबी गर्दै आएका नेकपा उपाध्यक्ष वामदेव गौतम पनि यो बैठकमा सामेल हुने छन्।

गौतम बिरामी भएको भन्दै शुक्रबार साँझ प्रधानमन्त्री ओलीले उनको निवास भैँसेपाटीमै गएर भेटेका थिए।

भैँसेपाटीमा ओलीसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटि बैठकले कारवाही गरेका संसदीय दलका उप नेता सुवास नेम्वाङ, ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालगायत नेताहरु पनि पुगेका थिए।

त्यसक्रममा ओलीले गौतमलाई आफूतिर आएर आफ्नो उत्तराधिकारी बनाउने प्रस्ताव गरेको चर्चासमेत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button