नेकपाको कुनै पनि गुटलाइआधिकारिकता दिएका छैनौ-निर्वाचन आयोग

कञ्चन आवाज
१६ माघ २०७७

निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेकपाका कुनै पनि पक्षले आधिकारिकता दाबी नगरेकाले कसैलाई आधिकारिक भन्न नमिल्ने स्पष्ट पारेको छ ।

शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयुक्त ईश्वरी पौडेलले आयोगले कुन पक्ष आधिकारिक हो भनेर निर्णय गरिनसकेको बताए ।

‘आधिकारिक कुन पक्ष हो भनेर निर्णय गरिसकेको अवस्था होइन,’ आयुक्त पौडेलले भने, ‘हामीलाई आधिकारिकता देऊ भनेर कुनै पनि गुट नआएको हुँदा हामीले आधिकारिकता दिने कुरै आएन ।’

उनले नेकपाको कुनै पनि समूहले आफू आधिकारिक हो भनेर अहिलेसम्म दाबी पेश नगरेको बताए ।

‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार हामीले गरेको निर्णय अभिलेखीकरण गरिदिनुस् भनेर दुवै पक्षबाट पत्र आएको थियो,’ आयुक्त पौडेलले भने, ‘पुस ५ गतेभन्दा पहिले पेश गरेको विधान र ७५ जेठ ३ गते जे विवरण थिए, ती सही छन् र बाँकी अपडेट गर्न सक्दैनौं भनेर हामीले भनिदिएको मात्र हो ।’

आधिकारिकताकै सवालमा सञ्चारकर्मीलाई प्रतिप्रश्न गर्दै आयुक्त पौडेलले भने – ‘आयोगले पार्टी फुटाउने हो र ?’

कुनै एउटा पक्षले आफूलाई आधिकारिक दाबी गर्दैमा त्यो कानून, विधान र संविधानसम्मत नहुने आयुक्त पौडेलको भनाइ थियो ।

आयुक्त पौडेलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केही दिनमै सूचना निकाल्ने तयारीमा आयोग रहेको प्रस्ट पारे ।

‘त्यही प्रयोजनका लागि सत्तासीन सबैभन्दा ठूलो दल नेकपासँग छलफल गर्न खोजेका थियौं,’ पौडेलले भने, ‘एउटा पक्षले अध्यक्ष बाहिर भएकाले हामी अहिले उपस्थित हुन सकेनौं भनेको अवस्था छ । उहाँहरूले १८ गतेपछि छलफल गर्ने कुरा गर्नुभयो । अर्को पक्षसँग भने हामीले अनौपचारिक छलफल गर्‍यौं ।’

उनले आयोग निर्वाचनको तयारीका लागि पूर्ण रूपमा लागेको बताए ।

‘हामी पूर्ण रूपमा निर्वाचनमा लागेका छौं । निर्वाचन सम्पन्न गर्ने हाम्रो संवैधानिक दायित्व पनि हो । अहिलेचाहिँ ठूलो पार्टी भएकाले नेकपालाई छलफलमा बोलाएका हौँ ।’

उनले आयोगले गर्ने खर्चको मामिलामा कार्यविधि बन्दै गरेको जानकारीसमेत दिए ।

‘त्यसको विवरण अर्थमन्त्रालयमा पठाउँछौं । सहमति भएपछि त्यहीअनुसार निर्वाचनमा हुने खर्चको व्यवस्था मिलाउने हो । आचारसंहिताका बारेमा पनि छलफल गरिरहेका छौं,’ उनले भने ।

शुक्रवार आयोगले नेकपाका दुवै पक्षलाई छलफलमा बोलाएको थियो । एउटा पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल दुवै काठमाडौँ बाहिर भएकाले १८ गते पछि छलफलमा आउनसक्ने सूचना लिएर लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेका थिए ।

त्यस्तै ओली पक्षबाट आज अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ रामेश्वर फुयाँललगायतका नेताहरू आयोग पुगेका थिए ।

प्रचण्ड-नेपाल पक्षले आज छलफलमा बस्न नसक्ने जनाएर आयोगबाट फर्केपछि आयोगका प्रमुख आयुक्त लगायत अन्य आयुक्तहरूले ओली पक्षसँग औनौपचारिक छलफल गरे ।

‘दुवै पक्षलाई राखेर छलफल गर्ने हाम्रो प्रयास आज सार्थक हुन सकेन, अर्कोपटक छलफलको आयोजना गर्नेछौं,’ आयोगका आयुक्त ईश्वरी पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button