अभिनेत्री मनीषालाई पृथ्वी जयन्तीमा सहभागी हुन लगायो प्रशासनले रोक

कन्चन आवाज
२७ पौष २०७७

काठमाडौँ- अभिनेत्री तथा सामाजिक अभियन्ता मनीषा कोइरालालाई पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि दिन प्रशासनले अवरोध गरेको छ।

केही दिनअघि देखि नै पृथ्वी जयन्तीका दिन मनीषाले सबैलाई एकताबद्ध हुन आग्रह गर्दै पृथ्वीनारायण शाहको स्मरण गर्न र उनीप्रति सम्मान व्यक्त गर्न आह्वान गरेकी थिइन्।

सोमबार पृथ्वी जयन्तीका दिन रत्नपार्कबाट एउटा समूहको नेतृत्व गरी पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि दिन सिंहदरबारतर्फ जाँदै गर्दा मनीषालाई भद्रकालीमै रोकिएको थियो।

‘मलाई भद्रकालीमा रोकियो, राष्ट्रको नायकप्रति श्रद्धाञ्जलिसम्म दिन दिइएन,’ उनले भनिन्।

भद्रकालीबाट प्रहरीले सानो समूहबाट मात्र मानिसहरुलाई सिंहदरबारतर्फ जान दिएको थियो। सहभागीहरुका अनुसार श्रद्धाञ्जलिका लागि तयार गरिएका मालाहरु चुँडालिएका थिए भने प्रहरीले सहभागीहरुलाई भद्रकालीमै अवरोध गरेको थियो।

‘पृथ्वी जयन्तीका दिन धेरै मानिस भेला हुन नपाउन् भनेर प्रशासनले गरेको नियोजित षड्यन्त्र हो यो,’ एक सहभागीले भने।

पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि दिँदै मनीषाले सिंहदरबारमा आफ्ना केही अभिव्यक्ति राख्ने तयारीसमेत गरेकी थिइन्।

‘मैले राष्ट्रनायकप्रति श्रद्धाञ्जलि दिन चाहेको थिएँ, तर प्रशासनले रोक्यो,’ मनीषाले भनिन्।

कोइरालाले सामाजिक सञ्जालबाट पनि अवरोधप्रति आक्रोश पोखेकी छिन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा सरकारले निन्दनीय कार्य गरेको बताएकी छन्। उनले लेखेकी छन्, ‘पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य ?
पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

त्यसको केही समयमा उनले पुन ट्वीट गर्दै भनेकी छन्, सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रधांजलि दीन नपाउने ?’ उनले आमव्यक्तिको भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख भएको बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button