
मध्यावधि चुनाव घोषणा भएसङ्गै नेताले उडाए २०७४ प्रतिबद्धताको धज्जि
- कन्चन आवाज,अछाम।
- १२ पौष २०७७
चुनाव ताका दल र उम्मेदारहरुले विकास र समृद्धिको भएभरका नारा लगाए। आ–आफ्ना निर्वाचन क्षेत्रमा थरीथरीका साना ठूला विकास निर्माणको योजना सम्पन्न गर्ने घोषणा नै गरे। तर ५ वर्ष नपुग्दै एकाएक प्रतिनिधि सभा भंग गराएपछि उनीहरुको चुनावी एजेण्डाहरु पनि प्रभावित भएका छन्।
वि.स. २०७४ मंसिरमा प्रतिनिधि सभाको चुनाव भएको थियो। कैलालीका ५ वटा निर्वाचन क्षेत्रका सबै पार्टीका उम्मेदारहरुले पार्टी र आफ्नो घोषणापत्र देखाएर मतदातासँग मत माग्ने काम गरे।
कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाहेक बाँकी ४ निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदारहरुले बिजयी हासिल गरे।
यस्तो थियो कैलालीबाट निर्वाचित सांसदको प्रतिवद्धता
कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि नेकपाका झपट रावल विजयी भएका थिए। रावलले चुनावका बेला मतदातासँग दर्जनौं वाचा गरे। सुकुमवासीलाई लालपुर्जा, मोहन्याल ७ को राजकाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, डुँडेझारीमा औद्यौगिक क्षेत्र, लम्कीमा मेडिकल कलेज, महेन्द्र राजमार्ग ६ र लम्की–टीकापुर सडक ४ लेनमा स्तरोन्नती, ‘एक घर एक रोजगारी’ जस्ता नारा लगाएर रावलले चुनाव जिते।
निर्वाचनमा गरिएको घोषणा र कार्यान्वयनबारे लम्कीका स्थानीय देवानन्द जोशीले भने, ‘टीकापुर सडक मात्रै तामझामका साथ उद्घाटन भयो अन्य प्रतिवद्धता भने अलपत्र छन्। कार्यकर्तामुखी योजना भने गाउँ नगरमा ल्याइएको छ।’
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट गौरीशंकर चौधरीले जितेका हुन। उनले पनि आफ्नो निर्वाचन क्षेत्रमा पहलमानपुर–लालबोझी, हसुलिया– मसुरिया सडक कालो पत्रे, ५० शैयाको घोडाघोडी अस्पताल, कान्द्रा नदीमा मेघा तटबन्धन, सबै क्षेत्रमा सिँचाइ सुविधा, रामशिखरझाला–पहलमानपुर जोड्ने कान्द्रा नदीमा मोटरेवल पुल निर्माण गर्ने प्रतिवद्धता मतदातासँग गरेका थिए।
ती योजनाको कार्यान्वयन र प्रगतीवारे घोडाघोडीका स्थानीय लक्ष्मण शाहीले भने, ‘निर्वाचनका बाचा केही पनि पुरा भएका छैनन्। भ्रष्टाचार र कमिसनखोरी मात्रै गाउँ पुगेको छन्।’ हुँदाहुँदै उनी संघीय सरकारको श्रम मन्त्री समेत बनेका छन्। तर जनताको काम गर्नेमा उनकै मतदाता विश्वास्त नभएको उनको भनाइ छ।
कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट वर्तमान सरकारमा मन्त्री हुन्। मन्त्री भट्टले पनि मतदाता सामु दर्जनौ प्रतिबद्धता गरेका थिए।
स्याउले दिपायल द्रुत मार्ग, औद्यौगिक क्षेत्र निर्माण, मालाखेती सहजपुर सडक, मालाखेती अस्पतालको स्तरोन्नती, ग्रीन गोदावरी, गोदावरी धार्मिक क्षेत्रको बृहत्तर विकास कोष समिति गठन, दिव्या रोजिन सञ्चालन, चुरेको संरक्षण र विकास गर्ने वाचा गरेर चुनाव जितेका थिए।
कैलालीको क्षेत्र नम्बर ५ मा भने नारदमुनि रानाले सेती अस्पताल ५ सय शैयाको बनाउने, गेटा बिमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने, सेती अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने, धनगढीलाई प्रदेश राजधानी बनाउने, गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने, कैलाली क्याम्पसलाई विश्वविद्यालय बनाउने र धनगढीलाई व्यवस्थित सहर बनाउने भनेका थिए।
तर कुनैमा पनि काम नहुदै प्रतिनिधि सभा बिघटन भएको छ। असमयमै चुनाव घोषणा भएका कारण मतदाता मर्माहत भएको बताउछन्, नेकपा प्रदेश कमिटी सदस्य रमेश धामी।
धामीले थपे, ‘लोपप्रिय काम गर्न नसकेको ओली सरकारले प्रतिनिधि सभा बिघटन गर्दा लोकतन्त्रसँगै जनमतको समेत अपमान भएको छ। विकास निर्माण पनि अवरुद्ध भएको छ।’