
सूर्य चिन्ह, पार्टीको नाम र झण्डामा प्रचण्ड–माधवको दाबी
- कन्चन आवाज
- २०७७ पौष १० शुक्रबार
आफ्नो दललाई बैधानिकता दिन माग गर्दै अध्यक्ष दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितका नेता आयोग पुगेका थिए । उनीहरुले आफ्नो पक्षमा हाल पार्टी एकीकरण हुँदाका ६७ प्रतिशत केन्द्रीय सदस्य रहेको समेत दस्तावेज बुझाएका छन् ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगमा झण्डा, चिन्ह, पार्टीको नाम हाम्रो हो भनी प्रचण्ड–माधव समूहबाट माग दाबी आएको बताए । ‘निर्वाचन चिन्ह, झण्डा, पार्टीको नाम हाम्रो हो भन्ने माग दाबी गर्दै केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहितको निवेदन आयोगमा पेश भएको छ, आयोगले अब आधिकारिकताको टुंगो लगाउन प्रक्रिया सुरु गर्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।
आयोग अन्तर्गतको कानुन शाखाले अब दुई दलको आधिकारिकताको बारे जाँचबुझ अघि बढाउने छ । यसरी जाँचबुझ गर्दा आयोगले कानुन अनुसार अर्को पक्षलाई माग दाबी आएको बारे जानकारी गराएर जवाफ पेश गर्न १५ दिनको समय दिने छ । जवाफ आएपछि समेत आयोगले दुबै पक्षलाई बहसमा राख्ने छ भने नमिल्ने अवस्था आए सबै केन्द्रीय सदस्यहरु बेलाएर सनाखत सम्म गर्न सक्नेछ । यसरी प्रक्रियागत ढंगबाट अघि बढ्दै गए आयोगलाई निर्णय लिन दुई महिना समय लाग्नेछ ।