प्रचण्डको अध्यक्षतामा बसेको नेकपा स्थायी कमिटीको बैठक सकियो-कन्चन आवाज

  • कन्चन आवाज
  • २०७७ मङ्सिर २१ गते,रोज १
काठमाडौंः नेकपा स्थायी कमिटीको बैठक सकिएको छ । आइतबार दिउँसो साढे १ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा शुरू भएकोे बैठक केहीबेरअघि सकिएको हो ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले सचिवालय बैठकमा पेस गरेका प्रस्ताव स्थायी कमिटी सदस्यलाई वितरण गरिएको छ । उक्त प्रस्ताव अध्ययनका लागि स्थायी कमिटी बैठक मंसिर २८ गते १ बजेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मंसिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठक पुस ५ गते बस्ने उनले जानकारी दिए ।

आजको बैठकको कार्यसूची पार्टीको आन्तरिक समस्याबारे थियो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली अनुपस्थित थिए । उनले बैठकमा पत्र पठाएका थिए । उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा बाचन गरेका थिए । प्रचण्डको प्रस्तावलाई छलफल गर्न नसकिने भन्दै आफू बैठकमा नआएको ओलीले पत्रमा उल्लेख गरेका थिए ।

त्यसपछि बैठकको अध्यक्षता गरेका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकतालाई केन्द्रमा राखेर समस्या समाधानका लागि व्यापक र गम्भीर रुपमा छलफल अगाडि बढाउन स्थायी कमिटी सदस्यहरूलाई आग्रह गरे ।

यसअघि शनिबार बसेको सचिवालय बैठकले आइतबारका लागि स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटी बोलाउने विषयमा ओलीले असहमति राखेका थिए । तर, कार्यकारी अध्यक्ष प्रचण्डलगायत बहुमत सचिवालय सदस्यले बैठक राख्नुपर्ने बताएपछि आजको लागि स्थायी कमिटी बैठक तय भएको थियो ।

गत कात्तिक २८ गते बसेको बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रस्ताव पेस गरेका थिए ।

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रस्तावमाथि छलफल गर्नुपर्ने अडानमा छन् । तर, ओली पक्षधरले भने दुबै प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव ल्याउन पहल गरिरहेका थिए । त्यो पहल सफल हुन सकेन । अन्ततः प्रचण्ड–माधव नेपाल समूहको माग बमोजिम सबै प्रस्तावहरू स्थायी कमिटी बैठकमा छलफलका लागि पेस भएका छन् ।

बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button