
ओलिको अनुपस्थित बिच, स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहिमा चल्दै -कन्चन आवाज
झण्डै ३ महिनापछि नेकपा स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार दिउँसो साढे १ बजेदेखि बैठक शुरू भएको हो ।
आफूले पेश गरेको राजनीतिक प्रस्तावको औचित्य र सचिवालयले निकाश दिन नसकेको विषयमा प्रचण्डले ब्रिफिङ गरिरहेका छन् ।
पार्टी विवाद जटिल मोडमा पुगेको बेला स्थायी कमिटी बैठक शुरू भएको हो । ओली सहभागी नभए पनि ओली पक्षीय नेताहरू भने बैठकमा सहभागी छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बैठकको अध्यक्षता प्रचण्डले गरिरहेका जानकारी दिए ।
यसअघि गत असार १० गते शुरू भई भदौ २६ गते सकिएको बैठकले पार्टीको विवाद अल्पकालका लागि मिलाएको थियो । ओलीले सरकार सञ्चालन गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने गरी भदौ २६ गतेको बैठकले कार्यविभाजन गरेको थियो ।
भदौ २६ गतेको सहमति ओलीले कार्यान्वयन नगर्दा पार्टीमा समस्या आएको आरोप प्रचण्ड पक्षले लगाउँदै आएको छ । स्थायी कमिटी बैठकमा यसअघि सचिवालयमा पेश गरिएका प्रस्तावमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
स्थायी कमिटी बैठकलगत्तै मंसिर २५ गतेदेखि नेकपा केन्द्रीय कमिटी बैठक बस्दैछ ।