दार्चुला पुग्दै गृह मन्त्रालयको छानविन समिति,प्रत्यक्षदर्शिलाइ समेत उपस्थित गराइने

कञ्चन आवाज
१९ साउन २०७८

महाकाली नदी पार गर्नेक्रममा जयसिंह धामी खसेर वेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानविन समिति आज दार्चुला पुग्दैछ। गृह मन्त्रालयले घटनाबारे छानविन गर्न सचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरिएको समिति सोमबार डडेल्धुरा पुगेको थियो भने आज दार्चुला पुग्न लागेको हो। टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ।

समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन्। नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्।

छानविन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने जनाएको छ। साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानविन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरिक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित ३ जनाको टोलीले स्थलगत छानविन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button