कोरोनाको कुन खोपको प्रभाबकारिता कति?खोपहरुको नालिबेली एकचोटि अध्ययन गरौ

कञ्चन आवाज
१६ साउन २०७८

कोरोनाभाइरस (कोभिड–१९) बाट नेपालमा मात्रै लाखौं संक्रमित भएका छन् भने झण्डै १० हजारले मृत्युवरण गरेका छन् । कोरोनाका कारण सिर्जित परिस्थितिले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा पारेको असर त झनै भयावह छ । र, अझै केही समय कोरोनाबाट मुक्ति पाइहाल्ने स्थिति छैन । यस्तो अवस्थामा कोरोना संक्रमण हुनबाट जोगिन सबैको नजर खोपमा छ ।

जुन रफ्तारमा खोपको विकास हुनसक्यो, यो आफैंमा एउटा वैज्ञानिक चमत्कार भन्दा कम रहेन । चीनमा पहिलो पटक कोरोनाभाइरस पत्ता लागेको एक वर्ष पुग्दा नपुग्दै खोपको विकास भयो । खोप विकासमा जुटेका कम्पनीहरूले आ–आफ्नो विधि प्रयोग गरे, विभिन्न परिवेशमा परीक्षण गरे र त्यहीअनुरूप प्रभावकारिताबारे फरक–फरक आँकडा आयो । खोप विकासलाई शक्ति राष्ट्रहरूले प्रतिष्ठाको विषय बनाए । अहिले पनि खोप कूटनीति मार्फत विश्व–राजनीतिमा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन् ।

जसरी कोरोनाभाइरसबारे अफवाहहरू फैलिए, खोपबारे पनि अफवाह र भ्रम फैलिएको छ । यसका लागि सामाजिक सञ्जालहरूको बढी प्रयोग भएको पाइन्छ । प्रत्येक कुरामा बजारु मूल्यांकन गर्ने बानी परेका हामीमा स्वभावतः कुन खोप सबभन्दा भरपर्दो भन्ने प्रश्न उठ्न गयो । आउनुहोस्, कोरोना र खोपबारे केही कुरा गरौं ।

कुन खोप सबभन्दा राम्रो भन्ने बुझ्न सबभन्दा पहिला खोपले कसरी काम गर्छ भन्ने जान्न जरूरी छ । त्योभन्दा पहिला भाइरस कस्तो हुन्छ ? संक्रमण कसरी हुन्छ ? र, हाम्रो प्रतिरोध क्षमताले कसरी काम गर्छ ? भनेर बुझ्न जरूरी हुन्छ ।

भाइरस अत्यन्तै सूक्ष्म हुन्छन् । भाइरसको बनोटलाई एउटा लिची फलसँग तुलना गर्न सकिन्छ । लिचीमा विभिन्न पत्र भएको जस्तै भाइरसमा पनि फरक–फरक प्रोटिनले बनेका पत्रहरू हुन्छन् र सबैभन्दाभित्र बीउ जस्तै भाइरसको जैविक तत्व ‘आरएनए’ हुन्छ । लिचीको बाहिरी भाग काँडा भए जस्तै भाइरसको पनि कडा बाहिरी पत्र हुन्छ । त्यो पत्रमा स्पैक भन्ने प्रोटिन हुन्छ । त्यही कडारूपी स्पैक प्रोटिन नै शरीरका कोषिकामा छिर्न महत्वपूर्ण हुन्छ ।

जसरी कोरोनाभाइरसबारे अफवाहहरू फैलिए, खोपबारे पनि अफवाह र भ्रम फैलिएको छ । यसका लागि सामाजिक सञ्जालहरूको बढी प्रयोग भएको पाइन्छ । प्रत्येक कुरामा बजारु मूल्यांकन गर्ने बानी परेका हामीमा स्वभावतः कुन खोप सबभन्दा भरपर्दो भन्ने प्रश्न उठ्न गयो ।
जब भाइरसले शरीरमा संक्रमण गर्छ, यसलाई हाम्रो प्रतिरोध प्रणालीमा रहेका कोषिकाले पहिचान गर्छन् र शरीरले यसविरुद्ध लड्न थाल्छ । शरीरले भाइरस, ब्याक्टेरिया लगायतका जीवाणुसँग लड्न विभिन्न उपाय अवलम्बन गर्छ, तर आधारभूत कुरा भनेको भाइरसलाई नष्ट गर्नु नै हो । यही क्रममा शरीरमा रहेका श्वेत रक्त कोषिकाहरूले सो भाइरसलाई पहिचान गर्ने एन्टिबडी बनाउन थाल्छन् । शुरुमा कम किफायती हुने यी एन्टिबडी संक्रमणसँगै परिष्कृत हुन्छन् र निकै किफायती बन्न पुग्छन् । माथि उल्लेख भएको जस्तो बाहिरी पत्रमा स्पैक प्रोटिन हुने हुँदा शरीरलाई सबैभन्दा सजिलो त्यही प्रोटिन पहिचान गर्न हुन्छ । एकपटक एन्टिबडीले त्यो पत्रको कडा अर्थात् स्पैक प्रोटिनलाई चिनेपछि शरीरले भाइरसलाई निस्तेज अनि निमिट्यान्न पार्न सक्छ । प्रत्येक फलमा फरक बाहिरी पत्र भए जस्तै प्रत्येक जीवाणुमा पनि फरक बाहिरी सतह हुन्छ, त्यसैले शरीरको प्रतिरोध क्षमताले फरक–फरक जीवन पहिचान गर्ने फरक–फरक एन्टिबडी बनाउँछ । अर्थात् हामीले हातले छोएर लिची र चिउरीको फरक पत्तन लगाए जस्तै हाम्रो शरीरले पनि एक र अर्को भाइरस छुट्याउन सक्छ ।

शरीरको यही विलक्षण प्रतिरोध क्षमतालाई नै खोपको माध्यमबाट भाइरसविरुद्ध प्रयोग गरिन्छ । खोपको निर्माण गर्नुको प्रमुख उद्देश्य भनेको शरीरलाई भाइरसको बाहिरी पत्रसँग परिचित गराउनु हो । अर्थात् कहिल्यै लिची नदेखेको मान्छेलाई लिचीको बोक्रा देखाएर लिचीसँग परिचित गराउनू जस्तै हो । अहिले उपयोगमा आएका खोप प्रायः सबैले भाइरसको त्यही बाहिरी पत्रलाई शरीरमा विभिन्न प्रविधि प्रयोग गरेर उपलब्ध गराउँछ । फाइजर र मोडेर्ना जस्ता आरएनए खोपले स्पैक प्रोटिन मात्र बनाउने सानो आरएनएलाई शरीरमा प्रवेश गराउँछ, जसका कारण शरीरमा स्पैक प्रोटिन उत्पादन हुन्छ, अनि शरीरले एन्टिबडी बनाउँछ । कोभिशिल्ड जस्ता खोपले कोरोना भाइरसको स्पैक प्रोटिनलाई अर्कै हानि नगर्ने भाइरसको सतहमा राखिन्छ भने भेरोसेल जस्ता खोपले सम्पूर्ण कोरोनाभाइरस लिएर त्यसलाई निस्तेज पारेर शरीरमा स्पैक प्रोटिन पुर्‍याउँछ । अन्त्यमा जुनसुकै प्रविधि प्रयोग गरे पनि स्पैक प्रोटिन शरीरमा उपलब्ध हुन्छ र यसविरुद्ध एन्टिबडी बन्न थाल्छ ।

शरीरले तत्काल एन्टिबडी बनाउने मात्र होइन, दीर्घकालीन रूपमा ती एन्टिबडी बनाउन सक्ने क्षमता विकसित गरेर सुरक्षित राख्छ । अर्थात् खोप लगाएको केही समयसम्म भर्खर बनेका एन्टिबडीले संक्रमण हुनबाट जोगाउँछ भने भविष्यमा फेरि संक्रमण भएको खण्डमा तुरुन्तै कोरोनाविरुद्ध एन्टिबडी बनाउन कोषिका सक्रिय हुन्छ र तुरुन्तै एन्टिबडी बनाएर शुरू हुँदै गरेको संक्रमण निस्तेज पारिदिन्छन् । खोप लगाउना साथ प्रशस्त मात्रामा पाइने एन्टिबडी समयसँगै कम हुँदै जान्छन्, तर फेरि संक्रमण भएमा तुरुन्तै एन्टिबडी उत्पादन भइहाल्छ । तसर्थ खोप लगाएको केही समय पश्चात् एन्टिबडीको मात्रा घट्नु सामान्य कुरा हो । दीर्घकालीन प्रतिरोध क्षमतामा केही ह्रास आउने सम्भावना भए पनि अहिले नै निक्र्योल गर्न सकिंदैन र यो विषयमा कालान्तरमा थप छर्लंग हुँदै जानेछ । तर अहिलेसम्म प्रयोगमा आएका सबै खोपले यथेष्ट मात्रामा एन्टिबडी उत्पादन गराउन र अहिलेको करीब एक वर्षको अवधिपछि पनि सुरक्षा प्रदान गर्छन् भन्ने पुष्टि भएको छ ।

तर बजारमा अहिले खोपको किफायती संख्यालाई लिएर कुन खोप सबभन्दा उत्कृष्ट भन्ने प्रश्न उठेको छ । विभिन्न अध्ययनले एउटै खोपको फरक–फरक किफायती संख्या देखाउँदा मानिसमा केही शंका उपशंका पनि उत्पन्न हुनु स्वाभाविक हो । पहिलो कुरा त हामीले खोपको प्रभावकारीता दर भनेको के हो त्यो बुझनु जरुरी हुन्छ । कुनै एक खोप ९० प्रतिशत प्रभावकारी छ भन्नुको अर्थ यो खोप लगाएका १०० मध्ये ९० जनालाई काम गर्छ, १० जनालाई गर्दैन भन्ने होइन । यसको अर्थ हुन्छ खोप लगाएको जनसंख्यामा नलगाएकासँग तुलना गर्दा ९० प्रतिशतले संक्रमणमा कमी आयो । अर्थात् खोप लगाएको खण्डमा समाजमा समग्रमा संक्रमण कति घट्छ भन्ने इंगित गर्छ ।

तर प्रभावकारीता दरले पूरै चित्र देखाउँदैन । फरक फरक खोप फरक समयमा फरक जनसंख्यामा परीक्षण गरिएका थिए । कुनै खोप परीक्षणको क्रममा संक्रमण दर निकै ठूलो थियो भने कुनै परीक्षण गर्दा संक्रमण न्यून थियो । फरक समय र स्थानमा गरिएका यस्ता परीक्षणमा भाइरसका भेरियन्ट पनि फरक हुन पुगेका थिए । अर्थात् सबै खोप एउटै परिवेशमा एकैपटक परीक्षण गरिएका होइन । यही कारण एउटै खोपका प्रभावकारिता दर फरक देखिन्छ । त्यसैले प्रभावकारिता दर ठ्याक्कै तुलना गर्न नमिल्नु स्वाभाविक हो ।

कुनै एक खोप ९० प्रतिशत प्रभावकारी छ भन्नुको अर्थ यो खोप लगाएका १०० मध्ये ९० जनालाई काम गर्छ, १० जनालाई गर्दैन भन्ने होइन । यसको अर्थ हुन्छ खोप लगाएको जनसंख्यामा नलगाएकासँग तुलना गर्दा ९० प्रतिशतले संक्रमणमा कमी आयो । अर्थात् खोप लगाएको खण्डमा समाजमा समग्रमा संक्रमण कति घट्छ भन्ने इंगित गर्छ ।
उदाहरणका लागि, फूटबलमा विश्वकप कसले जित्ला भनेर ब्राजिल, अर्जेन्टिना, स्पेन अनि जापानको टोलीले आफ्ना देशमा मात्रै खेलेको खेलको भरमा निक्र्योल गर्न सकिँदैन, सँगै राखेर खेलाउनुपर्छ त्यस्तैगरी खोप पनि उही संख्या, परिवेश र उस्तै मापदण्डमा परीक्षण नगरेसम्म प्रत्यक्ष तुलना गर्न सकिंदैन । हो छुट्टै खेल हेरेकै भरमा पनि प्रत्येक देशका टिमको शक्तिको अन्दाज भने गर्न सकिन्छ र राम्रा टिम यी हुन् भनेर भन्न भने सकिन्छ । खोपको पनि वैज्ञानिक आधारमा यी खोप प्रयोग गर्दा हुन्छ यिनले काम गर्छन् भनेर निक्र्योल गरिएको छ । तसर्थ कोरोनाका सबै खोपले काम गर्छन्, त्यसमा कुनै शंका राख्नुपर्दैन । सबै खोपले खोप लगाएको जनसंख्यामा ६०÷६५ प्रतिशतदेखि ९०÷९५ प्रतिशतसम्म संक्रमण दर घटाएका छन् ।

तर खोप लगाउनुको फाइदा संक्रमण दर घट्नु मात्रै होइन । सबभन्दा पहिले त हामीले प्रश्न गर्नुपर्ने हुन्छ, हामी खोप लगाएपछि के होस् भन्ने चाहन्छौं ? पहिलो र सर्वोत्तम त खोप लगाएपछि संक्रमण नै नहोस् भन्ने हो । संक्रमण भइहालेको खण्डमा पनि गम्भीर नहोस् र झन् मृत्यु त हुँदै नहोस् भन्ने हो । अर्थात् न्यूनतम भनेको मृत्युबाट जोगियोस् भन्ने हो । अहिले हामीलाई उपलब्ध सबै खोपमा के पाइएको छ भने पूर्ण मात्रा खोप लगाएका व्यक्तिमा संक्रमण भइहालेमा अस्पताल भर्ना हुने गरी गम्भीर संक्रमण देखिने क्रम लगभग शून्य छ । त्यस्तैगरी खोप लगाएका व्यक्तिमा कोरोना संक्रमणका कारण हुने मृत्यु पनि लगभग शून्य छ । अर्थात् खोप नलगाएका समूहको तुलनामा पूर्ण खोप लगाएका व्यक्तिहरू कोरोना लागेर गम्भीर विरामी हुने वा मृत्यु हुने भनेको अपवाद नै हो । अर्थात कोभिड–१९ महामारीको प्रमुख चुनौती गम्भीर बिरामीको व्यवस्थापन र मृत्युबाट जोगाउन शतप्रतिशत काम गर्छन् ।

तर यदि अन्य जोखिम बढाउने हो भने कोरोना रोकेर वा मृत्युबाट जोगाएर मात्र पनि हुँदैन । तसर्थ खोपले अन्य अनावश्यक गम्भीर परिस्थिति र असर गर्नुहुँदैन । विभिन्न खोपका साइड इफेक्टबारे सुनिंदै आएको छ, यसले पनि समाजमा निकै असमझदारी बढाएको छ । खोप लगाए पश्चात्, अझ दोस्रो खोप लगाएपश्चात् ज्वरो आउनु, जीउ दुख्नु सामान्य लक्षण हुन् । यस्तो अरू खोपमा पनि देखिन्छ । तर कुनै न कुनै समयमा सबै खोपको अन्य प्रभाव चर्चामा रहे, जसले गर्दा धेरै मानिसलाई अहिले खोपप्रति शंका उब्जेको छ ।

उदाहरणका लागि, भारतमा उत्पादित कोभिशिल्ड खोपले गर्दा रगत जम्ने समस्या र अमेरिकी जोन्सन एण्ड जोन्सनको खोपले स्नायु प्रणालीमा पारेको प्रभाव निकै चर्चामा रहे । कोभिशिल्ड खोपको करीब तीन करोड व्यक्तिमा खोप लगाउँदा ३०० भन्दा कम व्यक्तिमा त्यो समस्या देखिएको थियो भने जोन्सनको खोप करीब डेढ करोडले लगाउँदा १०० जनामा देखिएको थियो । सीमित व्यक्तिमा किन यो समस्या देखियो ? यो समस्या देखिनुमा खोपको योगदान कति थियो भन्ने अझै अनुसन्धानकै क्रममा छन् । अहिले त यस्तोसम्म हुनसक्छ भनेर सचेत मात्र गरिएको हो । साथै संख्यात्मक रूपमा हेर्दा विरलै मात्रै देखिने हुन् । उदाहरणको लागि डेढ करोड व्यक्तिले खीर पकाएर खाने हो भने २–४ हजारलाई त निश्चय अपच हुन्छ, केही गम्भीर बिरामी नै हुन्छन् होला । त्यसको तुलनामा खोप लगाउँदा साइड इफेक्ट देखिएको संख्या न्यून छ । एक किसिमले भन्दा खीर खानुभन्दा सुरक्षित छ खोप ।

खोपको प्रभावकारिताबारे अर्को प्रश्न पनि आएको छ, जुन फरकफरक भेरियन्टसँग सम्बन्धित छ । पहिलो कुरा त भेरियन्टमा किन खोपले काम नगर्ला भनेर बुझ्न जरूरी छ । समयक्रमसँगै भाइरसमा विस्तारै परिवर्तन हुँदै जान्छ । त्यसक्रममा कहिलेकाहीं त्यो बाहिरी स्पैक प्रोटिनको स्वरुपमा केही परिवर्तन आइदिन्छ, जसलाई हाम्रो शरीरमा पहिले बनेका एन्टिबडीले पहिचान गर्न सक्दैनन् । अघिकै लिचीको उदाहरण हेर्ने हो भने त्यो बाहिरी कडा पत्र परिवर्तन भएर रिट्ठा वा कटुस जस्तो बन्नु हो । अहिले देखिएका केही भेरियन्टमा पनि स्पैक प्रोटिनमा थोरै केही परिवर्तन देखिएका छन् र अहिले उपलब्ध खोप थोरै कम प्रभावकारी हो कि भन्ने अनुसन्धानले देखिएको छ । तर पनि गम्भीर बिरामी हुन वा मृत्युबाट जोगाउने क्षमतामा कमी देखिएको छैन । कालान्तरमा ठूलै परिवर्तन भएको भेरियन्टको विस्तार भएको खण्डमा भने अहिले लगाएको खोपले काम नगर्न सक्छ, तर अहिले त्यस्तो अवस्था छैन ।

यसरी हेर्दा कुन खोप सवभन्दा उत्कृष्ट होला त ! त्यसको सहज उत्तर हो, जुन अहिले उपलब्ध छ । अर्थात् तपाईंलाई जुन खोप उपलब्ध छ, त्यही नै सर्वोत्कृष्ट खोप हो । त्यो खोपले तपाईंलाई कोरोना संक्रमणबाट जोगाउँछ, अहिलेसम्म थाहा भएका सबै भेरियन्ट विरुद्ध काम गर्छ । र, संक्रमण भइहालेको खण्डमा पनि गम्भीर परिस्थिति आउने वा मृत्यु नै हुने गरी रोग बढ्न दिंदैन । अनि खीर खाएभन्दा पनि सुरक्षित छ । तसर्थ ढुक्क हुनुहोस्, आफ्नो पालोमा खोप लगाउनुहोस् । आफू पनि सुरक्षित हुनुहोस्, अरूलाई पनि सुरक्षित राख्नुहोस् ।

सरकारले पनि त्यो खोप किनोस्, जसको भण्डारण र वितरणमा समस्या हुने छैन, सस्तो पनि छ । र सबभन्दा ठुलो कुरा, जुन सजिलै र नियमित उपलब्ध हुन सक्छ । तर विश्वभरको माग र आपूर्ति हेर्दा एउटै खोपमा अड्किनुपर्ने आवश्यकता छैन, उपलब्ध हुनासाथ जुनसुकै खोप लिइहाल्नुपर्छ ।अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button