सैनिक शासन र नागरिक सरकारले मात्र निकास दिन सक्ने सिलवालको दाबी (बिज्ञप्तिसहित)

काठमाडौ।देशभर बढ्दो कोरोना महामारीका बेला सरकारले जनताको जीवनरक्षाका लागि न्यूनतम ध्यान पनि नदिएर सत्ताको खेलमा मस्त भएको भन्दै स्वतन्त्र नागरिक समाजले जनताको जीवन रक्षाको पहल गर्न सरकारसंग जोडदार माग गरेको छ । एकपछि अर्को निषेधाज्ञाको अवधि थपेर जनतालाई माम र कामबाट बञ्चित गर्दै भोक र रोगबाट पीडित हुन बाध्य पार्ने सरकारी हर्कत तत्काल रोक्न पनि समाजले चेतावनी दिएको छ ।
देशको महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै स्वतन्त्र नागरिक समाजले यो राज्य असफलताको कारक व्यवस्था र सत्ताधारीहरु भएको निष्कर्ष सहित अब जनताको जीवनरक्षा संगसंगै व्यवस्था परिवर्तनका लागि नै निर्णायक संघर्ष गर्नुपर्ने आवश्यक्तामा जोड दिएको छ । स्वतन्त्र नागरिक समाजका संयोजक हेमबिक्रम सिलवालले एक विज्ञप्ती जारी गर्दै जेठ महिनाभर पनि सरकारले महामारी नियन्त्रणमा पर्याप्त काम नगरे नेपाली सेना र जनता मिलेर असारदेखि निर्णायक सडक आन्दोलन मार्फत यो व्यवस्था नै फालेर राजसंस्था, हिन्दुराज्यसहितको व्यवस्था पुर्नस्थापना गर्नुपर्नेमा जोड दिएको छ ।
प्रेस बिज्ञप्ति
स्वतन्त्र नागरिक समाजको अपिलः
कोरोना महामारीका कारण देशभर जनताको जीवन दिनप्रतिदिन कष्टकर भैरहेको छ । प्रतिदिन २ सयको हाराहारी जनताको मृत्यु भैरहेको छ । यस्तो बेलामा सरकार भने सत्ताको खेलोमेलोमा व्यस्त छ । प्रतिपक्षी दलहरु पनि सत्ता प्राप्तीकै संघर्षमा मात्र केन्द्रीत छन ।
महामारीको बेलामा पनि जनताको जीवन रक्षा गर्न नसक्नु, महामारी नियन्त्रणमा ध्यान नदिई सत्ताधारी र विपक्षी दल सत्ताकै ध्यानमा मस्त व्यस्त हुनु जनताप्रति अन्याय र अपराध नै हो । यहाँ कुन दलले के गरेन्न, सरकार किन जनताको जीवन रक्षामा केन्द्रीत भएन भनेर बहस गर्ने समय अब बाँकी रहेन । सिंगै देशको अस्मिता रक्षाको प्रश्न अहम बनेर आईसक्यो । यस्तो महामारीको बेला जनतालाई महामारीबाट बच्न र बचाउन असफल सरकार, दलहरु र वर्तमान व्यवस्थाको विकल्पमा अब जनताले फेरि एकपट्क निर्णयक संघर्ष गर्नुको विकल्प छैन । जनतालाई खेतीकिसानीको मौसममा निषेधाज्ञा लगाएर थुन्ने, महामारी नियन्त्रणका लागि घरघरमा गएर रोगको परीक्षण नगर्ने, औषधी, खोप र स्वास्थ्य सामाग्रीमा पनि भ्रष्टाचार गर्ने र देशी विदेशी स्वार्थ पुरा गर्न जनभावना बिपरित सत्ता जोगाउने र सत्ता पाउने खेलमा राजनीतिक दलहरु केन्द्रीत हुनुले अब यो व्यवस्थाकै विकल्प खोज्ने बेला भैसकेको छ ।
यसैकारण स्वतन्त्र नागरिक समाज जेठ महिनाभार सरकारलाई जनताको जीवनरक्षाका लागि अर्जुनदृष्टि लगाएर काम गर्ने अन्तिम अल्टिमेटम दिन चहान्छ । अन्यथा असार सुरुबाटै भयंकर आन्दोलनको सुरुवात गरी जनविरोधी सरकार र यो व्यवस्थाकै विकल्पमा निर्णायक आन्दोलन गर्ने कडा चेतावनी दिन चहान्छ ।
अब जनताको जीवन रक्षा र देशको अस्मिता रक्षाका लागि यस्तो जनविरोधी सरकार, सत्ता र व्यवस्थाको पक्षमा नेपाली सेना पनि उभिनु हुदैन । सेना अगाडि सरेर यो सत्ता ढालेर नागरिक सरकार स्थापना गर्न निर्णायक रुपमा अग्रसर हुनुपर्दछ । स्वतन्त्र नागरिक समाज आम नागरिकलाई राजसंस्था सहितको हिन्दुराज्यका पक्षमा निर्णायक आन्दोलनमा उत्रन आव्हान गर्दछ । यस्तै, नेपाली सेनालाई नागरिक सरकार गठनका लागि निर्णायक बन्न हार्दिक अपिल गर्दछ । अब सेना अघि सरेर यो सरकार र व्यवस्थाको विकल्प खोज्न ढिलो गर्नु हुदैन । अबको निकास सैनिक शासन र नागरिक सरकार नै हो ।
हेम बिक्रम सिलवाल
संयोजक
स्वतन्त्र नागरिक समाज
पाटनढोका, ललितपुर
२०७८ जेठ १४ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button