कोरोनाको नयाँ प्रजाती बारेको नयाँ तथ्य थाहा पाइराखौ-सुचना अधिकारी बिष्ट

  • टेक बहादुर बिष्ट
  • आरटी पिसिआर प्रयोगशाला सुचना अधिकारी कमलबजार,अछाम 

आदरणीय आमाबुवा दाजुभाइ तथा दिदिबहिनी हरु हाल यतिखेर कोरोना भाइरस कोभिड १९ ले देश तथा बिदेशमा ठूलो मानवीय क्षति गरिरहेको छ।आज म कोरोना भाइरसको विषयमा जानकारी प्रदान गर्नेछु।

के हो कोरोना भाइरस (कोभिड-१९) ?
हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ ।

१. यो कोरोना भाइरसले वृद्धवृद्धालाई मात्र बढी असर गर्छ कि युवावर्ग पनि यसको जोखिम हुन्छन्?

सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्दछ। तर ज्येष्ठ नागरिक र पहिल्यै देखिनै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ।विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार यस भाइरसबाट बच्नको लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गनर्,े श्वासप्रश्वाससम्बन्धी सरसफाईमा विशेष ध्यान दिने जस्तै खोक्दा, हाँच्छ्यु गर्दा नाक मुख छोप्नु पर्दछ।

२. के कोरोना भाइरसबाट बच्न र संक्रमितको उपचारको लागि एन्टिबायोटिकको प्रयोग प्रभावकारी हुन्छ?

एन्टिबायोटिकले ब्याक्टेरिया (जिवाणु) विरुद्ध मात्र लड्न सक्ने क्षमता हुने भएकोले एन्टिबायोटिकको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन वा उपचार गर्न सकिदैन।यदि तपाई कोरोना भाइरसको संक्रमणका कारण अस्पतालमा भर्ना हुनुभएको छ भने शरीरमा ब्याक्टेरियाको संक्रमण पनि हुनसक्ने भएकाले तपाईंलाई चिकित्सकले एन्टिबायोटिक दिएको हुन सक्दछ।

३. कोरोना भाइरसबाट बच्ने वा उपचार गर्ने कुनै औषधि छ?

हालसम्म कोरोना भाइरसबाट बच्न वा उपचारको लागि कुनै औषधि पत्ता लागिसकेको छैन।तर संक्रमितलाई देखिएको लक्षण अनुसारको औषधि उपचार गरी स्याहार गर्नुपर्छ। यस भाइरसबाट संक्रमित गम्भीर बिरामीलाई अस्पतालमा भर्ना गरी लक्षण अनुसारका विशेष उपचार तथा स्याहार गरिन्छ।यसको उपचारको वारेमा धेरै देशहरुमा अध्ययन अनुसन्धान भइरहेको छ भने विश्व स्वास्थ्य संगठनले साझेदारहरुसँगको समन्वयमा यस विषयमा अध्ययन र अनुसन्धानलाई तीव्र रुपले अघि बढाइरहेको छ।

४. के हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि प्रभावकारी हुन्छ?

हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि कदापि प्रभावकारी हुन सक्दैन। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्नु नै उत्तम उपाय हो। हात धोइसकेपछि भिजेको हात सुकाउनका लागि कागजी रुमाल वा हात सुकाउने ड्रायरको प्रयोग गर्न सकिन्छ। तर सबैजनाले एउटै रुमाल प्रयोग गर्नु हुँदैन।

५. के घरपालुवा जनावरबाट कोरोना भाइरसको संक्रमण हुन वा सर्न सक्छ?

हालसम्म घरपालुवा जनावर जस्तै कुकुर, बिरालोआदि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छैन। तर घरमा पालिएका जनावरलाई छोए पश्चात सधैं साबुन पानीले मिचिमिचि हात धुनुपर्छ। यसरी साबुनपानीले हात धोएमा घरपालुवा जनावरबाट मानिसमा सर्न सक्ने ‘इकोली’ र ‘साल्मोनेल्ला’ जस्ता विभिन्न जीवाणुका संक्रमणबाट सुरक्षित हुन्छं।

६.के लसुन र बोझो पानी पिउदा कोरोना चट हुन्छ त?

लसुन, बोझो र बेसार खानु स्वास्थ्यको लागि लाभदायक हो, यसले हामीलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ। तर हालसम्म लसुन वा बोझो वा बेसारको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको तथ्य फेला परेको छैन।

लक्षणहरु:तलको तस्बिरमा प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button