तपाईंले लगाउने कोभिशिल्डको बिस्वस्नियता कस्तो छ,असर र फाइदा बारेको जानकारी

कञ्चन आवाज
२८ माघ २०७७

अहिले नेपालमा भारतले अनुदान दिएको कोभिशिल्ड खोपको टिकाकरण चलिरहेको छ । यो खोपले काम गर्छ कि गर्दैन ? कति समय काम गर्छ ?

नयाँ प्रजातिलाई काम गर्छ कि गर्दैन ? यसका अल्पकालीन र दीर्घकालीन असर के–के हुन्छन् ? अहिल्यै खोप लगाउने कि केही समय हेर्ने ?

यी विविध बिषयमा जनमानस द्विविधामा देखिएको छ । संसार नै खोपको अभावमा तिर्खाइरहेको समयमा नेपालले एक अन्जुली पानी प्राप्त गर्नु निकै सकारात्मक कुरा हो । यसको लागि नेपाल सरकार र भारत सरकार धन्यवादका पात्र बनेका छन् ।

१. खोप वितरणको अवैज्ञानिक मोडल

हालसम्म नेपाललाई भारतले १० लाख डोज खोप मात्रा उपलब्ध गराएको छ । टुटफुटको हिसाब राख्दा १० लाख मात्राले ४ लाख ३० हजार व्यक्तिलाई लगाउन सकिने सरकारी आकलन छ ।

चीनले दिने भनेको ५ लाख मात्रा कहिले आउने हो निश्चित छैन । चीनको कुनै पनि खोपलाई नेपालको औषधि व्यवस्था विभागले अनुमति दिएको छैन । चिनिया खोप औषधि व्यवस्था विभागले स्वीकृति दिएपछि मात्र प्रक्रियामा जाने हो ।

कोभ्याक्स सुविधा अन्तर्गत आउने २०% खोपमध्ये २२ लाख ५६ हजार खोप केही हप्तापछि आउने जानकारी आएको छ । खोप नआउन्जेल हामीसँग त्यही भारतले दिएको १० लाख मात्रा नै हो ।

खोप लगाउनुपर्ने प्रमुख कारण मृत्युदर घटाउनु हो । भारतबाट प्राप्त खोप सबै उमेरका स्वास्थ्यकर्मी, पत्रकार र कूटनीतिक नियोगका परिवारलाई लगाउनु सही निर्णय हैन । सरकारले फ्रन्टलाइनका स्वास्थ्यकर्मी सबैलाई तथा अन्य स्वास्थ्यकर्मीलाई जोखिम समूह हेरेर मात्र खोप दिनुपर्थ्यो ।

दोस्रो प्राथमिकतामा ज्येष्ठ उमेर जसलाई दीर्घ रोग पनि छ, उनीहरूलाई दिनुपर्थ्यो । पहिलो १० लाख मात्रा यसरी दिइएको भए खोप दिनुको उद्देश्य पूरा हुने थियो । सरकारले दोस्रो मात्राको लागि राखेको ५ लाख खोप निकाल्नु हुँदैन । कारणवश समयमा खोप नआएमा र समयमै दोस्रो मात्रा दिन सकिएन भने यो १० लाख मात्राको कुनै अर्थ हुने छैन ।

अर्को पटक आएको खोप जोखिम वर्गमा रहेका व्यक्ति ( ज्येष्ठ नागरिक, दीर्घबिरामी, जनसम्पर्कका पेशागत समूह आदि) लाई उच्च प्राथमिकता र मध्यम प्राथमिकता गरेर लगाउनु पर्दछ । स्वस्थ तथा जवान व्यक्तिलाई जोखिम वर्गमा परेपनि अर्को पटक दिन सकिन्छ ।

बस तथा ट्याक्सी चालक, दीर्घरोग भएका शिक्षक, सुरक्षाकर्मी तथा जनसम्पर्क बढी हुने कर्मचारी लगायतलाई पनि अर्को चरणमा दिनुपर्ने हुन्छ । यसरी प्राथमिकता छुट्याएर जीवनरक्षामा १/१ खोप सदुपयोग गर्नुपर्दछ ।

२. एकपटक कोभिड–१९ भएका व्यक्तिले खोप लगाउने कि नलगाउने ?

एकपटक कोभिड–१९ भएपछि संक्रमित व्यक्तिको शरीरमा कोरोना भाइरस विरुद्धको एन्टिबडी बनेको हुन्छ । एन्टिबडी शरीरभित्र रहेको बेला पुनःसक्रमण हुने सम्भावना अत्यन्त्तै न्यून हुन्छ । कतिपय वैज्ञानिकले एकपटक संक्रमित भएको व्यक्तिलाई खोप लगाउन नहुने भनेका छन् ।

संक्रमणले प्राकृतिक रूपमा बनेको एन्टिबडी निकै सुरक्षित र प्रभावकारी हुने केही अध्ययनले बताएका छन् । शरीरमा एन्टिबडी बनेपछि मेमोरी सेलले निकै लामो समयसम्म कोरोना भाइरसलाई चिन्ने तथा त्यस्तो भाइरस शरीरमा आएमा एन्टिबडी सक्रिय भएर भाइरसलाई नष्ट गर्ने हुँदा वर्षौं वा आजीवन खोपको आवश्यकता नपर्ने बताइएको छ ।

खोप उत्पादक कम्पनी तथा अन्य वैज्ञानिकले खोप लगाएमा थप सुरक्षित हुन्छ भनेका छन् । यो अनुसन्धानको विषय हो । तथापि एकपटक संक्रमण भएका व्यक्तिलाई पछिल्लो प्राथमिकतामा राख्नु वान्छनीय हुन्छ ।

सन् २००२ मा चीनमा फैलिएको सार्स महामारीको समयमा संक्रमित भएका व्यक्तिको हालसम्म शरीरमा एन्टिबडी देखिएको अनुसन्धानले पुष्टि गरेका छन् ।

३. गर्भवती,सुत्केरी तथा धेरै औषधि खानुपर्ने कडा रोगका बिरामीले खोप लिने कि नलिने ?

कुनै पनि खोप तथा औषधि यो समूहले लिनुपर्दा हानीभन्दा फाइदा धेरै हुने अवस्थामा मात्र दिइन्छ । अहिले नेपालमा कोरोना भाइरसको महामारी निकै घटेको अवस्थामा छ । त्यस्तै खोपले कति समय काम गर्छ भन्ने तथ्य निश्चित छैन । यसका अल्पकालीन र दीर्घकालीन असरबारे यथेष्ट अध्ययन भएको छैन । तसर्थ यो समूहले जनस्वास्थ्यका मापदण्ड पालना गरेर ‘पर्ख र हेर’को रणनीति अपनाउनु बुद्धिमानीपूर्ण हुन्छ ।

४. कोभिशिल्ड खोपले कति समय काम गर्छ ?

कोभिशिल्ड खोपको प्रभावकारिता ६२–७४ प्रतिशत हो । अर्थात् खोप लगाएका १०० जनामध्ये ६२–७४ जनालाई मात्र काम गर्छ । अन्य खोपको तुलनामा प्रभावकारिता अलिकति कम देखिन्छ । कोभिशिल्ड खोपले अफ्रिकामा देखिएको नयाँ प्रजातिको भाइरसलाई काम नगर्ने वा न्युनतम सुरक्षा मात्र दिने अध्ययनले बताएका छन् । हाल यो खोपले बढीमा ६ महिना काम गर्छ भन्ने अध्येताको दाबी छ ।

यो खोपले ६ महिना, १ वर्ष वा आजीवन काम गर्छ कि गर्दैन भन्ने प्रश्नको ठोस जवाफ समयक्रमले दिनेछ । कोरोना भाइरसको म्युटेसन भएर नयाँ–नयाँ प्रजातिका भाइरस देखा परे भने फ्लुको खोप जस्तै हरेक वर्ष लिनुपर्ने हुनसक्छ ।

५. कोभिशिल्ड खोपका असर के के छन् ?

अन्य खोपको तुलनामा कोभिशिल्ड खोपका नकारात्मक असर कम देखिएको छ । यो खोप लगाएपछि मृत्यु हुनेको संख्या अत्यन्तै कम छ । गम्भीर लक्षण देखिएर आईसीयूमा बस्नुपर्ने व्यक्तिको संख्या अन्य खोपको तुलनामा कम छ । खोप लगाएपछि ३ दिनसम्म ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीर शिथिल हुने तथा खोप लगाएको ठाउँमा दुख्ने लगायतका लक्षण अधिकांश व्यक्तिमा देखिएको छ । सामान्य लाक्षणिक उपचार र आरामले यी लक्षण आफैं हराएका छन् ।

६. यो खोप कसले लगाउन मिल्दैन ?

१८ वर्षभन्दा कम उमेरका व्यक्ति, खोपको कुनै घटकसँग एलर्जी भएका व्यक्ति, खाना तथा औषधिको एलर्जी भएका व्यक्ति, गर्भवती, सुत्केरी, सिकिस्त बिरामी, रुघाखोकी लागेको बेला, कोरोना संक्रमण भएको बेला, रगत बग्ने तथा जम्ने प्रक्रिया असामान्य भएका व्यक्ति, एस्पिरिन लगायत रगत पातलो बनाउने औषधि सेवन गरेका व्यक्ति, स्नायु प्रणालीसम्बन्धी समस्या भएका व्यक्ति, इम्युनिटी दबाउने रोग भएका व्यक्ति वा इम्युनिटी दबाउने औषधि सेवन गरेका व्यक्ति, सिकल सेल एनेमिया तथा प्लेटलेट्सको खराबी भएका व्यक्ति आदिले यो खोप लिन मिल्दैन ।

पहिलो मात्रा लगाउँदा एलर्जी भएका व्यक्तिले दोस्रो मात्रा लगाउनु हुँदैन । प्रत्येक व्यक्तिको शरीर फरक–फरक भएकाले संक्रमण तथा खोपले गर्ने असर पनि फरक–फरक हुन्छ भन्ने तथ्य बिर्सिनु हुँदैन ।

७. अवैज्ञानिक भ्रममा पर्नु हुँदैन

कोभिड खोपबारे नकारात्मक कुरा धेरै फैलिएका छन् । खोपले डीएनए नष्ट गर्छ, खोपमा चिप्स राखेको हुन्छ, खोपले नंपुशक तथा बाँझोपन हुन्छ, खोप लगाएपछि महिलाको दाह्रीजुँगा आउँछ, कोरोनाको खोपले मुख बाङ्गो हुन्छ वा प्यारालाइसिस हुन्छ, खोपले कोरोना संक्रमण गराउँछ … आदि विभिन्न भ्रमको प्रचार गरिएको छ, जुन सर्वथा गलत हो ।

यस्तो भ्रममा पर्नु हुँदैन । अलिअलि असर त हरेक औषधि, खाना तथा वातावरणको पनि हुन्छ ।

८. हामीलाई कति खोप चाहिन्छ ?

नेपाललाई कति खोप चाहिन्छ भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्दछ । खरिदको लागि खरिद गरेर अर्बौं रूपैया खर्च गर्नु मनासिब हुँदैन । कुनै पनि देशमा ७०–८०% नागरिकलाई खोप दिने हो भने बाँकी २०–३०% जनसंख्या हर्ड इम्युनिटीमा जान्छ । खोपको गणित यसप्रकार छ –

– १८ वर्षमुनिका बालबालिका – ३०%

– भारत र चीनको खोपले धान्ने – ५%

– कोभ्याक्स सुविधाबाट आउने – २०%

– गर्भवती, सुत्केरी र सिकिस्त लगायत – १०%

– खोप नलगाउने र लगाउनु नपर्ने अनुमानित जनसंख्या – १५%

यसप्रकार ७०% जनसंख्याको लागि खोप किन्नुपर्ने आवश्यकता छैन । बाँकी १०% नागरिकमा संक्रमण भएर एन्टिबडी बनेको हुनसक्छ । नेपालले किन्नुपर्ने खोप २०% जनसंख्याको लागि मात्र हो । ३ लाख जनसंख्याको २०% ६० लाख हुन्छ । ६० लाख जनसंख्याको लागि १ करोड २० लाख मात्रा आवश्यक हुन्छ ।

नेपालले भारत, चीन, रुस लगायतका देशसँग कूटनीतिक पहल गर्ने हो भने २० लाख मात्रा सहयोगमा आउन सक्छ । बाँकी १ करोड मात्रामध्ये सरकारले ५०% खरिद गरेर सर्वसाधारणलाई लगाउने तथा ५०% निजी क्षेत्रलाई अनुमति दिएर किन्न सक्ने व्यक्तिले लगाउने हो भने खोपमा धेरै खर्च गर्नुपर्दैन । यो हिसाब अनुसार सरकारले किन्नुपर्ने ५० लाख मात्राले कोभिशिल्ड १ करोड ५० लाख डलर (प्रति खोपको मूल्य ३ डलर छ) अर्थात् २ अर्बभित्र खोप आउँछ । यो कुरामा सरकार गम्भीर र सचेत हुनु जरुरी छ ।

९. खोप र मानवता

महामारीमा खोपको प्रमुख उद्देश्य भनेको मृत्युदर घटाउनु हो । यदि जवान व्यक्तिले खोप नलगाएर खोप अत्यन्तै जोखिम वर्गको व्यक्तिलाई लगाउने हो भने खोपको उद्देश्य पूरा हुन्छ । भोलि कारणवश महामारीको अर्को लहर आयो भने महामारीमा मृत्यु हुनसक्ने वर्गलाई छानीछानी खोप दिनु आवश्यक छ ।

खोप कोटामा लगाउने होइन मृत्युदर घटाउने प्रयोजनका लागि लगाउने हो । यसको लागि जोखिम वर्गमा नरहेका व्यक्तिले आफ्नो भागको खोप अत्यन्तै जोखिम वर्गको लागि छोड्ने हो भने त्योभन्दा उच्च मानवता अर्को हुँदैन ।

१०. मास्क नै सुरक्षित खोप हो

हामीले खोप लगाए पनि महामारी नियन्त्रणमा नआउन्जेल मास्कको अनिवार्य र सही प्रयोग गर्नुपर्दछ । खोप लगाएका सबै व्यक्तिमा एन्टिबडी बन्दैन । त्यो वर्ग सधै जोखिममा रहन्छ । एन्टिबडी बनेका व्यक्तिलाई पुनः संक्रमण हुनसक्छ । पुनः संक्रमण भयो भने खोप लगाएको व्यक्ति सुरक्षित भएपनि उ भाइरसको क्यारियर बन्न सक्छ अर्थात् खोप नलगाएका बालबालिका तथा अन्य व्यक्तिलाई संक्रमण सार्न सक्छ ।

गरीब देशका सबै जनतामा खोपको पहुँच हुन वर्षौं लाग्ने निश्चित छ । यो अवस्थामा उनीहरूले संक्रमण सार्ने सम्भावना रहिरहन्छ । तसर्थ अबको २–३ वर्ष हामी सबैले मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, भीडभाडमा नजाने, हात सफा गरिरहने तथा भेन्टिलेसन भएको ठाउँमा भेटघाट गर्नुपर्दछ । यसो गरेनौं भने नयाँ–नयाँ प्रजातिको महामारीको सामना गर्नुपर्ने हुन्छ ।

अबका हाम्रा दिन न्यु नर्मल अर्थात् नव सामान्यीकरण नै हुन् । हाम्रो स्वस्थ जीवनशैलीमा जनस्वास्थ्यका मापदण्ड अन्तर्घुलन गर्नुको विकल्प छैन ।लोकान्तरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button