अमेरिकि संसद भवनमा आक्रमण,(कु)को प्रयास भएको भनाइ

  • कन्चन आवाज
  • २३ पौष २०७७

एजेन्सी – संसारका विभिन्न देशमा आफूलाई मन नपरेका शासनविरुद्ध कू गराउने अमेरिकाले आफ्नै संसद् भवनमा आक्रमण भएको दिन देख्नुपरेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बुधवार संसद् भवनमा प्रवेश गरेर तोडफोड मच्चाउँदा सांसदहरू सुरक्षाका लागि लुक्न बाध्य भए । जो बाइडनलाई राष्ट्रपति बनाउनका लागि संसद्ले प्रमाणीकरण गरिरहेको बेलामा ट्रम्पका उग्रसमर्थकहरूले लोकतन्त्रको खिल्ली उडाउँदै भवनमा आक्रमण गरेका हुन् ।

अमेरिका आफूलाई विश्वका लागि लोकतन्त्रको नमूनाका रूपमा प्रस्तुत गर्छ । तर उसको यस दाबीमा शंका गर्नेहरूको संख्या बढिरहेको छ । अब यो घटनापछि त झन् अमेरिकाले आफूलाई लोकतन्त्रको मसिहा भन्न पनि नसुहाउने भएको छ ।

एक निर्वाचित शासकले अर्का निर्वाचित शासकलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न यसरी अस्वीकार गर्नु अनि समर्थकहरूलाई हिंसाका लागि उक्साउनुलाई स्पष्ट रूपमा कूको प्रयास भन्नुपर्ने हुन्छ ।

राष्ट्रपति आफैंले समर्थकहरूलाई हिंसा मच्चाउन निर्देशन दिएका हुन् । उनीहरूले गरेको हिंसा रोक्नका लागि सुरक्षाकर्मीलाई उपराष्ट्रपति माइक पेन्सले आदेश दिएका थिए । पेन्सले ट्रम्प समर्थकहरूलाई तिमीहरू हारिसक्यौ, स्वीकार गर भनी थर्काएको दृश्य पनि हेर्न लायकको रह्यो ।

अमेरिकाको छवि उकास्ने जिम्मेवारी पाएर विभिन्न देशमा खटिएका कूटनीतिकर्मीहरूको शिर लज्जाले झुकिरहेको हुनुपर्छ । लोकतन्त्र प्रवर्द्धन गर्नका लागि अमेरिकाले गरिरहेको प्रयासलाई यस घटनाले नराम्ररी अवमूल्यन गरिदिएको छ । अर्थात् अमेरिकाको सफ्ट पावरमा यसले ठूलै धक्का दिएको छ ।

ट्रम्पका समर्थकहरू यसलाई क्रान्ति भनी व्याख्या गरिरहेका छन् । उनीहरूले क्रान्ति भने पनि यो वास्तवमा राज्यविप्लवको प्रयास हो ।

हुन त अमेरिकी लोकतन्त्र कुनै एक व्यक्तिको सनकका कारण ध्वस्त हुने गरी कमजोर छैन । अमेरिकाका लोकतान्त्रिक संस्थाहरूले यो दुर्भाग्यपूर्ण अवस्थाबाट अगाडि बढ्न सक्षम छन् । तर यसले संसारभरि अमेरिकी छविमा पुगेको आघातबाट बौरिनका लागि लामै समय लाग्नेछ ।

लोकतन्त्र बहाली गर्ने भन्दै संसारका विभिन्न देशमा युद्धको सिलसिला चलाएको अमेरिकाभित्रै हिंसा प्रवेश गरेको छ । यसलाई घरेलु आतंकवादको संज्ञा दिइएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि आफ्ना नागरिकलाई चिनियाँ शासन प्रणाली स्थिर, समृद्धिका लागि सहायक र संसारका लागि उम्दा नमूना हो भनी बताउँदै आएको छ । ठूलो लोकतन्त्रमा संसद् भवनमाथि आक्रमणको घटनाले चीनको तर्क थप बलियो बनेको छ ।

रुसले पनि अमेरिकी लोकतन्त्रका कमजोरीहरूका विषयमा व्यापक रूपमा सूचना सम्प्रेषण गर्ने गरेको थियो । बुधवारको घटनाले उसलाई पनि खुशी तुल्याएको छ ।

यस परिघटनाले अमेरिकी जनतामा चुनावी लोकतन्त्रप्रति नै वितृष्णा फैलाउन सक्ने आकलन राजनीतिक विश्लेषकहरूले गरेका छन् । यसले लोकतन्त्रको आधारशिलालाई नै हल्लाएको छ ।

अन्य मुलुकका लोकतान्त्रिक परीक्षणका नाममा युद्धका वितण्डा मच्चाउने अमेरिकालाई यस घटनाले पाठ पढाउनुपर्ने हो । संसारको सबभन्दा ठूलो अर्थतन्त्र र सैन्यशक्ति भएको मुलुक विश्व राजनीतिमा विनम्र बन्नका लागि यस घटनाले प्रेरित गर्नुपर्ने हो । जो बाइडनले राष्ट्रपति पदको शपथ खाएपछि अमेरिकी छविलाई उकास्नका लागि भगीरथ प्रयास गर्नुपर्ने हुन्छ ।

यस घटनाले त लोकतान्त्रिक मुलुकहरूको शिखर सम्मेलन गर्ने उनको योजनालाई मजाकमा परिणत गरिदिएको अनुभूति हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button