अछाममा ८३ ओटा छाउगोठ भत्काइयो,छाउगोठ भत्काउने अभियान तीव्र रुपमा चल्दै

कन्चन आवाज,अछाम
२०७७ पौष, १० गते

अछाम अछाममा दोस्रो चरणको छाउगोठ भत्काउने अभियान तीव्र रुपमा अघि बढाइएको छ ।

दोस्रो चरणको अभियान अन्तर्गत अहिलेसम्म अछाममा बुधवारसम्म ८३ ओटा छाउगोठ भत्काइएका छन् ।

पुस ४ गते देखी अछाममा छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरिएको थियो ।

दोस्रो चरणको छाउगोठ भत्काउने अभियान अन्तर्गत जिल्लाका विभिन्न वडामा रहेका छाउगोठमा बस्नेहरूको अवस्था र छाउगोठका बारेमा जानकारी लिने काम भईरहेकोे जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

छाउगोठ भत्काउने अभियान अन्तर्गत चौरपाटी गाउँपालिकामा २८ ओटा छाउगोठ भत्काइएका छन् ।

यस्तै मेल्लेख गाउँपालिकामा २१, पञ्चदेवल विनायक नगरपालिकामा २९र तुर्माखाद गाउँपालिकाका ८ अहिलेसम्म ८३ ओटा छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यसैबिच बान्निगढी जयगढ गाउँपालिकामा पनि दोस्रो चरणको छाउगोठ भत्काउने अभियान सुरु भएको छ ।

जस अन्तर्गत आज बिहीबार बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीमा ५ ओटा छाउगोठ भत्काइएका छन् ।

वडा अध्यक्ष कुल बहादुर शेठ्टीको नेतृत्वमा गएको सरोकारवाला तथा सुरक्षाकर्मीको टोलीद्वारा बर्दादेवी गाविसका साबिकको वडा नम्बर १ देखी ५ सम्मका विभिन्न टोलका ५ वटा छाउगोठ भत्काइएका हुन् ।

अभियानमा वडा अध्यक्ष शेट्टिसंगै जयगढ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेशराज भट्ट लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर हामीले रामारोशन टुडे बाट लगेका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button