
कोरोना संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु
- कन्चन आवाज
- २०७७ असोज १४ गते,रोज ०४
कोरोना संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको पुरुषको मृत्यु भएको हो ।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे मृत्यु भएको हो । यसैगरी सप्तरीको राजविराज–४ घर भएका ३९ वर्षीय पुरुषको बिहान करिब ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो । सिग्देलले अवस्था नाजुक बन्दै गएपछि संक्रमित पुरुषमा रेमडिसिभर औषधि पनि चलाइएको जनाए ।
यसैगरी बीपी प्रतिष्ठानमा ९ असोजमा भर्ना भएका राजविराजका ३९ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । ती पुरुषलाई विराटनगरको गोल्डेन अस्पतालले रेफर गरेको थियो ।
मधुमेह र उच्च रक्तचाप भएका पुरुषमा मिर्गौलाको समस्या पनि थियो । उनी नियमित डाइलायसिस गराउँदै आएका थिए । १० असोजमा भर्ना भएका पुरुषलाई भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६९ जना संक्रमितको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा १९ महिला र ५० पुरुष छन् ।