महिला बर्ग प्रतिको सम्मानमा छाउगोठ भत्काउन जाँदै छु छोरी!

  • गोकर्णप्रसाद उपाध्याय
  • १ माघ २०७७

राति अबेर फर्किँदा छोरी निदाइसकेकी थिई। सानो छोरो मध्य पुसको जाडोमा सिरकसँग लुट्पुटिएको थियो। श्रीमती मेरो बाटो हेर्दै। निदाउनुअघि ‘बाबा कतिबेला आउने?’ भन्दै दुवैले बाबालाई खुब पर्खिए भन्दै थिइन् उनी।

भोलिपल्ट शनिबार, छाउगोठ भत्काउने अभियानमा सदरमुकाम मंगलसैनबाट ८० किलोमिटर टाढा सोकट जाने योजना बुन्दा अबेर भएको थियो। निदाइसकेका छोरीछोरा अब मलाई एकैचोटि पर्सि बिहान देख्नेवाला थिए। केही दिनयता नियमित कामकाजका अतिरिक्त अछाममा सदियौंदेखि कुरीतिको रूपमा रहेको छाउपडी प्रथा उन्मूलनको अभियानमा लागेकाले बढी व्यस्त छु।

पोहोरदेखि सुरू भएको अभियानमा ६ हजार छाउगोठ भत्काइएको तथ्यांक थियो। तथ्य यो पनि थियो कि पछिल्लो दशकमा छाउगोठमा १० जनाभन्दा बढीले ज्यान गुमाएका छन्। बलात्कृत हुने, हिंसा खेप्ने, सर्प-कीराको टोकाइ सहनेको त हिसाबै छैन।

नभन्दै सबेरै हिडेँ। अघिल्लो हप्ता यसैगरी हिँड्दा ४ बजे खाना खाएको उदाहरण दिँदै श्रीमती ‘रोटी खाएर जानू, बाहिर खानाको टुंगै हुँदैन’ भन्दै थिइन्।

‘आज चाहिँ बेलैमा हुन्छ’ भन्दै तर्किएँ। छोरीतिर फर्किएँ। ‘बाइ’ भनेँ। के फर्काउँथी डल्लो परेर सुतेकी डल्ली!

सोचेँ

बाबासँगै सुत्न मन पराउने। लेखपढ गर्दा समेत काखैमा राखेर थप्थपाउँदै सुताउनु पर्ने। मेरी छोरीजस्तै मायालु हुनुपर्ने सबैका छोरी। तर, छोरीलाई छाउगोठमा पठाएर आफू घरभित्रै सुत्ने बाबाहरूको मनमाथि शंका लागेर आयो।

तिमीजस्तै प्यारा छोरीहरू पलपल मर्दै छाउगोठमा बस्नु नपरोस् भनेर छाउगोठहरू भत्काउन जाँदैछु छोरी!

जसरी तिमी हरेक राति बाबालाई अँगालो हाल्दै सुत्छौं, कैयौं मृत्युहरू निसास्सिँदो छाउगोठ वरिपरि त्यहाँ बस्ने कसैकी छोरी, कसैकी बुहारी, कसैकी दिदी, कसैकी बहिनी, कसैकी आमा, कसैकी फुपू, कसैकी काकी, कसैकी भाउजू, यस्तैयस्तै साइनो पर्ने किशोरी वा महिलालाई अँगालो हाल्न मडारिन्छन् होला!

मान्छेहरू मलाई भन्छन्, ‘छाउगोठ भत्काउनुअघि चेतना दिनू, शिक्षा दिनू। अनि मात्र भत्काउनू।’

तर आगो छुँदा पोल्छ, सबैलाई थाहा हुन्छ। राति घर बाहिर जानु हुन्न, नजान्ने पनि कोही छैन।

छोरी, तिमी पाँच वर्षकी हुँदा त यो सबै थाहा पाइसक्यौ। घरबाहिर, त्यो पनि अमानवीय ढंगले कैयौं दिन छाउगोठमा राख्नु हुन्न भन्ने पनि सिकाउनु पर्ला र? त्यत्ति थोरै चेतना नभएका मान्छे पनि हुन्छन्!

छोरी, म तिमी जत्रैजत्रै हुँदा गोलाइको घरको बार्दलीमा टोलाएर बसिरहँदा दिनभरी चर्न गएका गाईगोरु अँध्यारो हुन लाग्दा आफैं घर फर्किन्थे। परैबाट अम्म्माऽऽऽ गर्दै आएको जनाउ दिन्थे। मेरी आमा बाहिर आउँथिन्, पानीको व्यवस्था गर्थिन्। उनीहरू सुरुऽऽऽप्प, सुरुऽऽऽप्प पानी पिएर किलो दाम्लो छेउ जान्थे। चौपायालाई त्यति चेतना हुने, तर छाउपडी मान्ने अभिभावकलाई त्यति थाहा नहुने होला त?

उफ चौपाया जत्तिको सम्भार छैन यहाँ छोरी मान्छेको। चौपायाले कहिल्यै गोठविहीन हुनु पर्दैन। तर छोरी मान्छेले पशुभन्दा तुच्छ व्यवहार भोग्नुपर्छ।

अरू बेला सबै घरधन्दा गर्ने महिला, छाउ (रजस्वला) हुँदा घरबाहिर लखेटिनु पर्ने, कालकोठरी जस्ता छाउगोठमा बस्न। बिना कुनै अपराध गरिने यस्ता व्यवहार र विभेद सुन्यौ भने तिम्रो अबोध मस्तिष्कले ममाथि प्रश्न बाणहरू तेर्स्याउनेछ। देख्यौ भने तिम्रो मन छियाछिया हुनेछ। कथंकदाचित भोग्यौ भने?

उफ नै गह्रुँगो भएर आउँछ। कल्पना गर्नै सक्दिनँ।

किनकि रजस्वला हुँदा किशोरी तथा महिलालाई सार्वजनिक स्थान प्रयोग र प्रवेशमा बन्देज लगाइन्छ। धार्मिक सांस्कृतिक कार्यमा सहभागी गराइँदैन। धारामा जान दिइँदैन। दूध-दहीजस्ता गोरस खाने अनुमति हुँदैन। सँगै बसे देउता रिसाउने, अनिष्ट हुने भन्दै अलग्गै राखिन्छ। अमानवीय ढंगले उनीहरू छाउगोठमा बस्न विवश हुनुपर्छ।

उज्यालो भित्र्याउने एउटै झ्याल नभएका, दुई फिट अग्लो ढोका भएका, तीन फिटजति चौडाइ र ४ फिटजति लम्बाइका। कालकोठरीझैं छाउगोठमा किशोरी तथा महिलाले महिनैपिच्छे ५-६ दिन यातना भोग्नुपर्ने प्रथा विद्यमान छ।

यो सुन्दा तिमीले कहिलेकाहीँ दुवै कानमा बुढी औंला राखेर जिब्रो बाहिर निकाल्दै, मुख बिगार्दै बाँकी चार औंलाले बोलाएझैं गरी लाऽऽऽ लाला लाऽऽऽला भन्दै बाबालाई खिसी टिउरी गरेझैं, छाउगोठका कारण संविधानमा उल्लेख समानताको हकको खिसी टिउरी भएझैं लाग्छ।

किन छाउगोठ भनी सोध्दा जवाफ आउँछ- ‘घरभित्र राखे देवी रिसाउँछन्। देउता रिसाउँछन्।’

यस्तो लाग्छ छाउ प्रथाको नाममा देवीदेउता नै बदनाम छन् यहाँ। बम्बई जाने बेला छाउ हुँदा तिनका देउता रिसाउँदैनन्। सँगै खान, एउटै कोठामा बस्न मिल्छ। कुनै काम विशेषले घर छोडेर सँगै सदरमुकाम जाँदा छाउको मतलब नहुने तर, घरमा हुँदा रिसाउने ती देवीदेउता त्यति विधि मतलबी होलान् र? कि देउताको ‘फ्रिक्वेन्सी’ त्यही घर, छाउगोठ र धारा आसपास मात्रै टिप्छ?

कालिका, मालिका, शैलेश्वरी, त्रिपुरासुन्दरी, उग्रतारा, षोडशा, सुर्मादेवी जस्ता देवी नै देवीको भूमि सुदूरपश्चिमी पहाडमा मन्दिरकी देवीलाई धूमधाम पूज्ने, घरकी देवी छाउगोठमा सुत्ने बिडम्बना छ। भौतिक रूपले नदेखिने छाउगोठको छुट्टै छायालोक भएझैं लाग्छ यहाँ।

छाउपडी प्रथा उन्मूलन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहायक जिल्ला न्यायाधिवक्ता र प्रहरी नायब उपरीक्षक भएको तीन सदस्यीय संयन्त्र। संयन्त्र गठन भएको एक वर्षमा यसरी एकसाथ स्थलगत अनुगमन गर्न हिँडेको पहिलो अवसर हो। साथमा, सशस्त्र प्रहरी नायब उपरीक्षक, सहायक प्रमुख जिल्ला अधिकारी, नापी अधिकृत, खरिदार, सुरक्षाकर्मी र पत्रकार।

मनमा नानाथरी कुरा उम्लिरहँदा मंगलसैन-साँफे सडकका सयौं मोड पार गरिसकेको थिएँ। तर सुदूरपश्चिमका महिलाले महिनावारीपिच्छे भोग्नुपर्ने कठिनाइका मोडबारे प्रश्नहरू झन् बल्झिँदै थिए। यो भेगमा वर्षैपिच्छे सन्तान जन्माउन रूचाउने एउटा कारण कतै छाउगोठको अमानवीय व्यवहार त होइन?

चौरपाटीको सिउँडी पुग्यौं। खाना हामीलाई कुरिरहेको थियो। बिहान श्रीमतीले ‘अस्तिको जस्तो चार बज्ला नि!’ भनेको सम्झिएँ। पहिलो गाँस हाल्न लाग्दा सोफाको ह्यान्डलमा बसेर बिहानबेलुकै बाबालाई खाना खुवाइ माग्ने छोरीलाई सम्झिएँ। उसले खाई होला कि नाई? हुन त अब, न सोधेर फाइदा छ, न सोचेर। युट्युब हेर्दै खाई त होली भन्दै खान सुरू गरेँ।

सिउँडीबाट सोकट गइरहँदा गैरिलेक पर्तिर कान्लामाथिको छाउगोठ जस्तो संरचनाले अघि बढ्न दिएन। रोकियौं। बुट बजार्दै त्यो सानो झुपडीमा सुरक्षाकर्मी पुग्दा ओखलछेउ चामल निफनिरहेकी किशोरी झस्किइन् सायद। कापिँरहेका हातले त्यही भनिरहेका थिए।

मैले नरम भएर कुरा गर्दा ५ कक्षामा पढ्ने ११-१२ वर्षीया नानीले भनिन्, ‘हम्रा घरमा त कोई छाउ हुँदाइन्। छाउगोठ छैन।’

तलको गाउँ देखाउँदै सोध्यौं, ‘ऊ त्यो गाउँमा छन् त?’

‘त्यहाँ पनि पोहोर सालै ओदारेका हुन्। आछिन।’

पोहोर भत्काएका गोठ मानिसले पुनर्निर्माण गरेका रहेनछन् भन्ने संकेत पाइयो। बाटोमा झरेर गाडी चढ्नुअघि पुलुक्क फर्किएर नानीलाई चिहाएँ। आँगनीको डिलबाट घाँटी तन्काएर हेर्दै थिइन्। मनमनै भनेँ, ‘तिमीले छाउगोठको अनुभूति गरेकी रहिनछौ र गर्नु पनि नपरोस्।’

सोकट पुग्यौं। २ नं. वडा कार्यालयमा तल, माथि, दायाँ, बायाँ सबैतिर हेरेँ। साइन बोर्ड कतै नदेख्दा म वडा कार्यालयमा वडा कार्यालय खोजिरहेँ। त्यहाँ परिचय गर्नुभन्दा प्रश्न गर्नु उचित लागेर सोधेँ, ‘कार्यालयको साइन बोर्ड खोइ त अध्यक्षज्यू?’

नाजवाफ हुने जवाफ पाएँ, ‘बनायाको छ। कोठाभित्र राख्या छौं।’

मन थाम्न सकिनँ। कोठाभित्र हेरेँ। साइन बोर्ड त देखिनँ। नागरिक बडापत्र कोठाभित्रै लडिरहेको रहेछ।

वाह! सबै कुरा कति सुरक्षित वडा कार्यालयमा। हरेक कुरा कोठाभित्र। जे कुरा साँच्चै कोठाभित्र हुनुपर्थ्यो, त्यो चाहिँ न कोठाभित्र पाएँ, न बाहिर- नागरिकताको अनुसूची ३ र ४। वडा कार्यालय कुनै कोणबाट कार्यालय लागेन। दोकान लाग्थ्यो।

६४ वर्षीय वडा अध्यक्षलाई केरकार गर्नुभन्दा सचिवसँग बुझ्न खोज्दा थाहा भयो पालिकाका सातै वडाका लागि एकजना सचिव रहेछन्, खानेपानी तथा सरसफाइ टेक्निसियन।

अग्रिम जानकारी गराएर छाउगोठ भत्काउन, सचेतना गर्न आएका हामी वडाको कुनै पूर्वतयारी नदेखेपछि हिँड्दै ‘प्लान’ बनाउने भनी पूर्वतर्फ बढ्यौं।

रायखोज पुग्यौं। पोहोर घरैपिच्छे भएका छाउगोठ अधिकांश भत्किसकेका। केही पुनर्निर्माण भएजस्ता। तुली नेपालीको परिवार कोही मलवार (तराइ) झरेका छन्, कोही बम्बई। ढोकामा साङ्लो लगाइएको छ। घरमा कोही छैनन् तर घरछेउ छाउगोठ छ। वरिपरिका छिमेकी महिलालाई बोलाएर बुझ्दा थाहा भयो, त्यहाँ छाउपडी महिला खासै बस्दैनन्। कहिलेकाहीँ वरपरबाट बस्न आउँछन्।

संयुक्त जस्तो देखिने छाउगोठको छानामाथिका दुइटा फर्सी झिक्न लगायौं। प्रहरीले सम्झाइ-बुझाइ गर्‍यो। छानाका स्लेटहरू झारिए। ढुंगाको पर्खाल भत्काइयो।

बुढी आमा भन्छिन्, ‘छाउ भएका बेला घरभित्र राखे सञ्चो हुँदैन।’

युवतीहरू भन्थे, ‘हामी त नगरौं भन्छौं, आमा-सासूहरू मान्नु हुन्न।’

किशोरीहरू भन्छन्, ‘के गर्ने त ? हामीलाई बोल्नै दिइन्न।’

छाउगोठ भत्काउँदै गयौं, सचेतना गर्दै गयौं। अभियानमा गज्जब साथ दिए पुष्प साउँदले।

उमेर सोध्दा ‘अख्खो साल १४ वर्ष पुग्न्या हुँ’ भन्ने पुष्पले छाउगोठयुक्त घर देखाए। गोठ भत्काउन खन्ती खोजेर उनै ल्याउँथे। अघि अघि लाग्थे। यस्तो लाग्थ्यो उनको बाल मानसिकतामा छाउगोठको नमिठो छाप छ र उनी त्यो यसैगरी मेटाउन चाहन्छन्।

 

एवम् रितले कमला साउँद, गंगा नेपाली, वडा सदस्य राजुदेवी साउँद, कैले भुलका छाउगोठहरू ढल्दै गए।

डिल्ली भुलको आँगनीको छाउगोठमा नाटकीय दृश्य। टोली आएको चाल पाएर गज्जब आइडिया लगाएछन्। घरभित्रबाट एक बाकस, एक दुई झोला गुन्टा, पानीको घडा, केही थान पुस्तक छाउगोठमा भरेछन्। १५ वर्षे छोरालाई छाउगोठभित्र बसेर पढेजस्तो गर्न भनेछन्। पहेँलो टिसर्ट, कालो जिन्स पाइन्ट लगाएर हिक्मत भुल छाउगोठको ढोकाबाट मुन्टो निकालेर भन्दै थिए, ‘म त सधैं यतै सुत्छु, अहिले पढ्दै छु।’

अंग्रेजी पढ्दै अरे! झ्याल नभएको, बन्द ढोका भएको चार फिट लम्बाइको छाउगोठमा पढ्छु भनेर दिउँसै रात पार्न खोजे। गोठबाट अटेसमटेस गर्दै निस्किँदा उनको गोजीबाट झरेको स्मार्ट मोबाइल र पावर ब्यांकले भुल परिवारको बैंक ‘ब्यालेन्स’ संकेत गर्थ्यो। तर चेतनाको ‘ब्यालेन्स’ सायद रित्तो रहेछ। पुष्पले यहाँ पनि खन्ती खोजेर ल्याएपछि बाँकी काम खन्तीले गर्‍यो।

पोहोर मंसिरमा साँफेबगर ३ सिद्धेश्वरकी २१ वर्षीया पार्वतीले यस्तै निस्सासिने छाउगोठमा ज्यान गुमाइन्। उनीभन्दा पहिले अरू थुप्रैले यो जिल्ला र सेरोफेरोका जिल्लाका विभिन्न ठाउँमा ज्यान गुमाएकै छन्। घर नभएर छाउगोठमा बस्न जाने होइनन् उनीहरू। अघिल्लो दिनसम्म घरभित्रै बस्नेलाई छाउ भएपछि अलग्गै बस्न छाउघर बनाइन्छ। साँघुरो, अप्ठ्यारो, कष्टकर अनि जोखिमपूर्ण।

चेतनाले मात्रै हुने भए पहाडबाट तराइ झर्ने, गाउँबाट सहर पस्नेले यो प्रथा मान्थेनन् होला। सहरमा पनि छाउ बार्ने चलन छ। फरक यत्ति हो, गाउँका छाउगोठ देखिन्छन्, सहरका छाउमहल देखिँदैनन्, खोजिदैनन्।

अज्ञानता भनौं, पढालेखाहरूले पनि छाउगोठ बनाएकै छन्। छाउगोठमा सुत्न पठाउने र जाने कति शिक्षिका पनि छन्। पुरूषले गर्दा हो भनौं भने महिला पनि कट्टर छन्। कतिपय जनप्रतिनिधिले पनि छाउगोठ राखेको सुनिन्छ।

छाउगोठको प्रयोजन केवल छाउपडी बस्न हो। हरेक चिज ‘मल्टिपर्पोज’ हुँदै गएको आधुनिक विश्वमा छाउगोठ भने छाउपडीलाई खुम्चिएर, कठ्यांग्रिएर बस्न बाहेक अन्य प्रयोजनमा आउँदैन। त्यसमा न घरपालुवा राख्न मिल्छ, न वनबाट ल्याउने घाँस दाउराका भारी। न खाद्यान्न राख्न मिल्छ, न खजाना।

कैद सजाय पाएका कैदीहरूले बरू हिँडडुल गर्न, आराम गर्न पाउँछन् तर छाउगोठको छायालोकको रूपमा रहेको अछामका महिलाले एक दिन, दुई दिन, एक हप्ता, दुई हप्ता होइन प्रजनन् उमेरभर कुनै अपराध बिना कालकोठरीको जीवन बाँच्नु पर्छ।

फाँसीमा चढाइने कैदीको समेत अन्तिम इच्छा सोधिन्छ अरे! तर छाउगोठमा बस्न पठाइनेलाई अहँ! यस्तो लाग्छ फाँसीभन्दा पनि क्रुर सजाय हो छाउपडी प्रथा अनि छाउगोठ। जहाँ पलपल पीडा र ग्लानीले मर्नुपर्छ।

छाउपडी प्रथा अन्त्यका लागि केही सोच्दा, केही गर्दा र केही भोग्दा दिनले ढल्ने तयारी गर्‍यो। हामी सोकटबाट हिड्यौं। मंगलसेन आइपुग्दा हिजोभन्दा अबेर भइसकेको थियो।

छोरी उसैगरी निदाइसकेकी थिई। छोरो सिरकसँग लुटपुटिएको थियो। श्रीमती मेरो बाटो हेर्दै।

(लेखक गोकर्णप्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय, अछामका प्रमुख जिल्ला अधिकारी हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button