संघिय संसदमा प्रतिनिधित्व गर्ने २३ सांसद अन्डर एसएलसी,६५ बर्षका पार गरेका २७ जना

कञ्चन आवाज
२५ फागुन २०७७

कानून बनाउने थलोका रूपमा चिनिने संसद्मा प्रायःजसो पढेलेखेका, उच्च शिक्षा अध्ययन गरेका व्यक्तिहरूको प्रतिनिधित्व हुने आमअपेक्षा हुन्छ।

पढेलेखेका सांसदहरू संसद्मा जान सके कानून निर्माणका लागि संसद्मा पेश हुने विधेयकमा तर्कपूर्ण तरिकाले छलफल गर्न सक्ने, अन्तरक्रिया गर्न सक्ने, बहस समेत गर्न सक्ने अपेक्षा गरिएको हुन्छ। तर नेपालको संघीय संसद्मा एसएलसी समेत उत्तीर्ण नगरेका सांसदहरूको उपस्थिति बाक्लो छ। यद्यपि सांसद बन्नका लागि न्युनतम शैक्षिक योग्यता यति नै हुनुपर्छ भन्ने कुरा कुरा भने कतै तोकिएको छैन ।

संघीय संसद्मा उपस्थित रहेका ३३४ जना सांसदमध्ये ६९ जना सांसदहरू अर्थात २० प्रतिशत सांसद एसएलसीसम्म मात्र पढेका वा त्योभन्दा पनि कम पढेका छन्। राष्ट्रिय सभाका ७ र प्रतिनिधि सभाका १६ जना गरेर कुल २३ सांसद एसएलसी समेत उत्तीर्ण छैनन् भने राष्ट्रिय सभामा १२ जना र प्रतिनिधि सभामा ३४ जना गरेर कुल ४६ जना सांसदहरू एसएलसी मात्र उत्तीर्ण छन्।

यस्तो छ सांसदको शैक्षिक योग्यता

संघीय सं‌सद्का ३३४ जना सांसदमध्ये २३ जना सांसदहरूले एसएलसीसम्म पनि नपढेको पाइएको छ ।

४६ जना सांसदले एसएलसी मात्र उत्तीर्ण गरेका छन् भने ५५ जना सांसदहरू प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।

संघीय संसद्मा सबैभन्दा बढी स्नातक तह उत्तीर्ण गरेका सांसद छन्।

११४ जना स्नातक तह उत्तीर्ण, ७४ जना स्नातकोत्तर उत्तीर्ण, १ जना एम.फिल. उत्तीर्ण र १४ जना सांसद विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त छन् ।

प्रतिनिधि सभामा १६ जना सांसद अन्डर एसएलसी

प्रतिनिधि सभामा कुल २७५ जना सांसदहरू रहेकोमा १६ जना अन्डर एसएलसी रहेको पाइएको छ । ३४ जना सांसद भने एसएलसी मात्र उत्तीर्ण छन् भने ४१ जना प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण छन्।

सबैभन्दा बढी स्नातक तह उत्तीर्ण गरेका सांसदहरूको उपस्थिति प्रतिनिधि सभामा रहेको छ। १०४ जना सांसदहरू स्नातक तह उत्तीर्ण गरेका छन्।

६१ जना सांसदहरू स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् भने १ जना सांसद एम.फिल. उत्तीर्ण छन्। प्रतिनिधि सभा सदस्य विद्या भट्टराई एम.फिल उत्तीर्ण गरेकी सांसद हुन्।

त्यसैगरी १२ जना सांसदले विद्यावारिधि(पीएचडी) उत्तीर्ण गरेका छन्। सांसदहरू अमरेश कुमार सिंह, डिला संग्रौला (पन्त), दीपकप्रकाश भट्ट, नारायण खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, बाबुराम भट्टराई, विजय सुब्बा, भीमबहादुर रावल, मीनेन्द्रप्रसाद रिजाल, विन्दा पाण्डे, शिव माया तुम्वाहाङ्फे र सूर्यप्रसाद पाठकले विद्यावारिधि गरेका छन्।

६ जना सांसदहरू कर्मा घले, प्रकाश रसाइली (स्नेही), बीना मगर, मुकुन्द न्यौपाने, रेशमलाल चौधरी र विना देवी बुढाथोकीको शैक्षिक योग्यता भने खुल्न सकेको छैन।

राष्ट्रिय सभामा ७ जना सांसद एसएलसीभन्दा कम

राष्ट्रिय सभामा ७ जना सांसदले एसएलसी पनि उत्तीर्ण गरेका छैनन् । एसएलसी अनुत्तीर्ण वा एसएलसीभन्दा कम पढेका ७ जना सांसद राष्ट्रिय सभामा छन्। त्यसैगरी १२ जना सांसदहरू एसएलसी मात्र उत्तीर्ण छन्।

राष्ट्रिय सभामा सबैभन्दा बढी सांसदले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन्। १४ जना सांसदहरू प्रवीणता प्रमाण पत्र तह मात्र उत्तीर्ण, १० जना स्नातक तह उत्तीर्ण, १३ जना स्नातकोत्तर तह उत्तीर्ण छन्।

२ जना सांसदहरू वेदुराम भुसाल र विमला राई पौड्यालले विद्यावारिधि गरेका छन्। राष्ट्रिय सभा सदस्य वामदेव गौतमको शैक्षिक योग्यता भने खुल्न सकेको छैन।

संविधानविद् डा. भीमार्जुन आचार्य सांसदको न्युनतम शैक्षिक योग्यता निर्धारण गर्नुपर्ने बताउँछन्। राजनीतिक योगदान र शैक्षिक योग्यता दुईवटा विचारधारा रहेको भए पनि शैक्षिक योग्यता निर्धारण हुनुपर्ने विचारधारासँग आफू सहमत रहेको आचार्य बताउँछन्।

‘झन् माथिल्लो सदन भनेको त प्राज्ञिक सदन, बौद्धिक सदन पनि हो, तल्लो सदनले गर्ने कामलाई पनि चेक गरेर सन्तुलित गर्न सक्ने गरी प्राज्ञिक व्यक्तित्वहरूको प्रतिनिधित्व हुनु पर्छ,’ आचार्यले  भने, ‘तर, हाम्रो संसद्मा त्यो कुराको ख्याल गरिएको छैन, समानुपातिक समावेशी प्रतिनिधित्वको नाममा संसद्मा प्रतिनिधित्व गराउँदैमा कामको गुणस्तरमा भने त्यसको प्रत्यक्ष प्रभाव परेको छ ।’

हो, जेल/नेल गएका नेताहरूको योगदानलाई पनि कदर गरिनुपर्छ तर सरकारमा जानका लागि पनि सांसद हुनुपर्‍यो । सरकारले बनाउने कानून, नीति तथा कार्यक्रम सबै संसद्बाट नै पारित हुने हुनाले संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको न्युनतम शैक्षिक योग्यता निर्धारण गरिनुपर्ने उनको तर्क छ।

‘विषयवस्तुको ज्ञान भएपछि कामको गुणस्तरमा नै फरक पर्छ,’ उनले थपे, ‘झन् देशको सबै महत्त्वपूर्ण विषयहरू संसद्बाट नै पारित हुने जिम्मेवारी समेत भएकाले पनि सांसदहरू पढेलेखेको हुनुपर्छ।’ नत्र, यति विश्वविद्यालय वा कलेजहरूको किन आवश्यकता पर्थ्यो भन्दै उनी प्रश्न गर्छन् ।

तर, अर्को संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली भने जनताको प्रतिनिधि भएका कारण यति नै पढेको हुनुपर्छ भन्ने संविधानमा व्यवस्था नभएको बताउँछन् ।

‘ल्याप्चे छाप लगाउने मानिसले पनि राजनीति गर्न पाउँछ, जनताले आफ्नो प्रतिनिधिको रूपमा यदि ल्याप्चे छाप लगाउने व्यक्तिलाई नै पत्याएर संसद्मा जिताएर पठाउँछ भने त्यो नै सांसदको योग्यता हो,’ ज्ञवालीले भने, ‘हो, उसले जनताको कुरा सदनमा उठायो वा उठाएन त्यो कुरा महत्वपूर्ण हुन्छ।’

पढेका व्यक्ति यदि संसद्मा गयो भने त्यो राम्रो त हुने नै भयो तर, सांसदले गर्नुपर्ने कामका लागि सचिवालय त हुन्छ, उसले कार्यान्वयन गर्ने भएका कारण सांसद पढेका छन् वा छैनन् त्यसले धेरै असर नपर्ने उनको कथन छ।

५५ देखि ६५ वर्षसम्मका सांसद सबैभन्दा बढी

संघीय संसद्मा रहेका ३३४ जना सांसदमध्ये ५५ देखि ६५ वर्ष उमेरका सांसदहरूको उपस्थिति सबैभन्दा बढी छ । ४५ वर्षभन्दा मुनिको ७४ जना, ४५ देखि ५५ वर्ष सम्मको ११६ जना, ५५ देखि ६५ वर्षसम्मको ११७ जना, ६५ देखि ७५ वर्षसम्म २५ जना र ७५ वर्षभन्दा माथि २ जना सांसदहरू छन्।

प्रतिनिधि सभामा उमेरका आधारमा ६५ देखि ७५ वर्षसम्मका बढी सांसदहरू छन्। २५ देखि ३५ वर्षसम्मका ८ जना, ३५ देखि ४५ वर्षसम्मका ५७ जना, ४५ देखि ५५ वर्ष सम्मका ९५ जना, ६५ देखि ७५ वर्षसम्मका १८ जना र ७५ वर्षभन्दा माथि २ जना सांसदहरू छन्।

त्यसैगरी राष्ट्रिय सभामा पनि ५५ देखि ६५ वर्ष उमेर समूहका सांसद बढी छन्। ३५ देखि ४५ वर्षसम्मका ९ जना, ४५ देखि ५५ वर्षसम्मका २१ जना, ५५ देखि ६५ वर्ष सम्मका २२ जना, ६५ देखि ७५ वर्षसम्मका ७ जना गरेर कुल ५९ जना सांसदहरू छन्।

३३ प्रतिशत महिलाको उपस्थिति

संघीय संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व छ। ३३४ जना सदस्यहरू मध्ये २२१ जना पुरुष अर्थात ६६.१७ प्रतिशत र ११३ जना अर्थात् ३३.८३ प्रतिशत महिला सदस्यहरू छन्।

प्रतिनिधि सभाका २७५ जना सांसदमध्ये १८४ जना पुरुष अर्थात् ६६.९१ प्रतिशत र ९१ जना महिला अर्थात् ३३.०९ प्रतिशत सांसदहरू छन्। प्रत्यक्षतर्फ १५८ जना पुरुष र ४७ जना महिला गरी १६५ जना र समानुपातिकतर्फ पुरुष २६ र महिला ८४ गरी १ सय १० जना छन्। त्यसैगरी राष्ट्रिय सभाका जम्मा ५९ सदस्यमध्ये पुरुषको संख्या ३७ अर्थात् ६२.७१ प्रतिशत र महिला सदस्यको संख्या २२ अर्थात् ३७.२९ प्रतिशत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button