
हुम्लामा भयो भारी हिमपात,जनजीवन प्रभावित
हुम्ला मा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ ।
उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् ।
पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ । हुम्ला सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख लगायतका स्थान हिउँले ढाकिएर सेताम्य भएका छन् ।
हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित भए पनि हिउँले बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी भएका छन् ।