
आज माघे संक्रान्ति पर्व बिभिन्न परिकार खाएर मनाइदै
कन्चन आवाज
१ माघ २०७७
आज माघ १ गते, चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर माघे संक्रान्ति पर्व मनाइँदैछ। हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ।
विभिन्न समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन्। माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ।
आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ।
माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिए सरह हुने धर्मशास्त्रमा उल्लेख छ।
माघे संक्रान्तिको अवसर पारेर कैलालीको गोदावरी धाममा आयोजना हुँदै आएको बाह्र राशि दर्शन मकर मेला यसवर्ष कोरोना कहरका कारण प्रभावित भएको छ।
मेला प्रभावित भएपनि स्नान तथा पूजापाठ गर्न खुल्ला गरिएपछि गोदावरी धाममा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ।
कैलाली कञ्चनपुर,अछाम सहित सुदूरपश्चिम र प्रदेश बाहिर तथा छिमेकी भारतबाट समेत श्रद्धालु भक्तजन स्नान र पूजापाठका लागि गोदावरी क्षेत्र पुग्ने गरेका छन।